कानूनको आँखा छल्दै भागेर ढुक्कले घर बसेकाहरु धमाधम कर्यापझ्याप

कानूनको आँखा छल्दै भागेर ढुक्कले घर बसेकाहरु धमाधम कर्यापझ्याप

अदालतको फैसला कार्यान्वयन गराउन खटिएको प्रहरीले फरार भनिएका तर आफ्नै घरमा बसिरहेका सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमा उदयपुर त्रियुगा नगरपालिका २, खैजनपुरका ३० वर्षीय दिलिप चौधरी, ३३ वर्षीय राजिन चौधरी, ३५ वर्षीय वीरेन चौधरी, ३५ वर्षीय रिता चौधरी, ३२ वर्षीया पवित्रा चौधरी र ३४ वर्षीया दुर्गा चौधरी हुन् ।

उनीहरु सबैलाई प्रहरीले घरबाटै पक्राउ गरेर अदालतमा फैसला कार्यान्वयनको लागि बुझाएको हो । अदालतले विभिन्न समयमा गरेको फैसलाअनुसार सबैले जनही एक लाख ३६ हजार छ सय ७७ रुपैयाँको दरले आठ लाख २० हजार दुई रुपैया जरिवाना तिराउने फैसला गरेको थियो ।

तर उनीहरुले सो जरिवाना रकम बुझाएका थिएनन् । प्रहरीले विशेष सूचनाको आधारमा आज उनीहरुलाई पक्राउ गरेको हो । तर के अपराधमा उनीहरुलाई अदालतबाट उक्त जरिवाना भएको थियो भन्नेबारे प्रहरीले स्पष्ट पारेको छैन ।

यसैगरी आजै रामपुरठोक्सिला प्रहरीले लागुऔषध मुद्दामा कैद सजाय तोकिएर लुकिछिपि घरमै बस्दै आएका एक किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलका नगरपालिका ७, मैनामैनीका १८ वर्षीय अशोक राई हुन । उनलाई उदयपुर अदालतले २०७७ फागुन २३ गते लागुऔषध मुद्दामा १०महिना १५ दिनको कैद फैसला सुनाएको थियो । तर उनी फैसलापछि फरार थिए ।

पक्राउ परेका सबैलाई आजै उदयपुर जिल्ला अदालतसमक्ष बुझाएको छ ।

टिप्पणीहरू