खोप भरियो, सुई रित्तियो

अहिले मुलुकमा कोरोनाविरुद्धको खोपको मौज्दात पर्याप्त मात्रामा छ । तर खोप लगाउन आवश्यक सिरिन्ज (सुई) को अभाव चुलिएपछि सरकारले भारतबाट मगाउने निर्णय गरेको छ ।

कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावित हुन नदिन सरकारले भारतबाट ५० लाख सिरिञ्ज आगामी शनिबार नेपाल ल्याउने भएको हो ।

खोप अभियानलाई निरन्तरता दिन ५० लाख सुई मगाइएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ । सुई आउनासाथ अभाव भएको स्थानमा पठाइने महाशाखाले जनाएको छ ।

हाल विश्वभर नयाँ भरिएन्ट ओमिक्रोनको त्रास बढ्दो छ । यही क्रममा नेपाल सरकारले खोप अभियानलाई तीब्र पार्न खोजेको बताइन्छ ।

सुई अभाव हुँदा खोप अभियान प्रभावित बन्न थालेको छ । सुई अभावका कारण प्रदेश १ को खोप कार्यक्रम प्रभावित भइसकेको छ । अन्य प्रदेशले पनि सुई सकिन लागेको बताउँदै आएका छन् ।

अहिले मुलुकभर एक करोड २२ लाख ४० हजार डोज खोप मौज्दात छ । एक डोज खोप लगाउन एउटा सिरिञ्ज आवश्यक पर्ने भएकाले अझै ७५ लाख थान सुईको जोहो गर्नुपर्ने हुन्छ । पछि प्राप्त हुने खोपको लागि पनि सोहीबमोजिम सिरिञ्जको बन्दोबस्त गर्नुपर्ने अवस्था देखिएको हो ।

टिप्पणीहरू