साना बालबालिकामा पनि कोरोना देखिन थाल्यो

साना बालबालिकामा पनि कोरोना देखिन थाल्यो

प्रायः प्रौढ र वयस्कलाई मात्र संक्रमण हुने भनिएको कोरोना भाइरस साना बालबालिकामा समेत देखिन थालेको छ । मुलुकमा पछिल्ला दिनमा १० वर्ष मुनिका तीन जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ देखि २० वर्ष उमेर समूहका १८ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी कोरोना संक्रमणबाट आज तीन जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा कोराना संक्रमणबाट तीन जनाको मृत्यु र दुई सयबढी संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा दुई सय ९० जना संक्रमित थपिएका छन् । १७ हजार ८९ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

गत २४ घण्टामा दुई सय ३२ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै पाँच हजार दुई सय ४२ जना सक्रिय संक्रमित छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ प्रतिशत रहेको छ ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ७७ पुगेको छ । पछिल्लो आँकडाअनुसार काठमाडौंमा आठ सय २३ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ९९ र ललितपुरमा पाँच सय ९१ जना संक्रमित छन् ।

टिप्पणीहरू