मन्त्री च्याउखेतीमा व्यस्त

मन्त्री च्याउखेतीमा व्यस्त

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको योजनामा सुरु गरिएको च्याउखेतीमा दश जनाले रोजगार पाएका छन् । तनहुँको भानु नगरपालिका ६, बरभञ्याङमा गरिएको सिताके च्याउको व्यावसायिक खेतीमा १० जनाले रोजगारी पाएका हुन् ।

श्रममन्त्री श्रेष्ठ र स्थानीय मुक्ति तिमिल्सेनाको संयुक्त लगानीमा सिताके च्याउखेती गरिएको हो । झण्डै डेढ करोड रुपैयाँ लगानीमा साढे दुई रोपनी क्षेत्रफलमा च्याउखेती गरिएको छ । पकाएर खाँदा अरु च्याउभन्दा स्वादिलो र मिठो हुनुको साथै बिरामीको निम्ति फाइदाजनक भएपछि सिताके च्याउखेतीको बजारमा माग बढ्दो छ ।

गत फागुनदेखि थालिएको च्याउखेती गण्डकी एग्रिकल्चर फार्म प्रालिका नाममा दर्ता छ । हाल १० हजार मुढामा सिताके च्याउखेती गरिएको छ । एक दिनमा ४० देखि ५० किलोग्रामसम्म च्याउ उत्पादन हुँदै आएको छ ।

कसरी गरिन्छ सिताके च्याउखेती ?

च्याउखेती पहाडी क्षेत्रका गाउँघरमा सहजरुपमा गर्न सकिन्छ । तर, यसबारे व्यवहारिक ज्ञान भने लिनैपर्छ । यो थोरै जग्गामा गर्न सकिने खेती भए पनि विशेष स्याहारको आवश्यकता पर्छ । तर, अन्य खेतीजस्तो धेरै दुःख भने गर्नुपर्दैन ।

च्याउखेतीको लागि सुरुमा हरियो कटुसको मुढा काट्ने, त्यसको बोक्रा जान नदिने गरी डम्पिङ गर्ने, सुकेपछि मेसिनको प्रयोगले उक्त काठ छेडेर प्वाल बनाई च्याउको बीउ रोपिन्छ ।

च्याउको बीउ रोपेको सात महिनापछि चौबीसै घण्टा पानीमा डुबाएर राख्ने, त्यसपछि टुसा आएको एक हप्ताभित्र खान र टिप्न योग्य हुन्छ । यसरी रोपिएको च्याउले एकपटक उम्रेपछि चारदेखि पाँच वर्षसम्म निरन्तर उत्पादन दिन्छ । नेपालमा अहिले कन्ये च्याउ, गोब्रे च्याउ, सिताके च्याउ र राते च्याउको खेती हुने गरेको छ ।

टिप्पणीहरू