‘बा’को रोजाइमा फेरि पनि नपरेपछि कमरेडहरु आगो

‘बा’को रोजाइमा फेरि पनि नपरेपछि कमरेडहरु आगो

नेकपा (एमाले) को केन्द्रीय कमिटीमा नपरेका कमरेडहरुका चित्त दु:खाइ सार्वजनिक हुन थालेका छन् । चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीको रोजाइमा नपर्दा पनि मन बुझाएर बसेका कमरेडहरु मनोनित कोटाबाट समेत फालिएपछि असन्तुष्ट बनेका हुन् ।

आज अध्यक्ष ओलीको प्रस्तावमा ४४ जना केन्द्रीय कमिटीमा मनोनित हुँदा आफ्नो नाम नसमेटिएपछि केही नेताले सामाजिक सञ्जालबाट पीडा पोखेका छन् । त्यसमध्येका हुन् नेता राजेन्द्र अर्याल,प्रेस चौतारीका पूर्व अध्यक्ष,न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष । अर्याल लामो समयदेखि अध्यक्ष केपी ओलीलाई साथ दिएका नेता हुन् । उनले मनोनित कोटाबाट केन्द्रीय सदस्य हुने आशा राखेका थिए ।

तर,४४ जनामा आफ्नो नाम नपरेपछि उनले फेसबुकमार्फत असन्तुष्टि पोखेका छन् । लेखेका छन्, ‘संघर्ष नै जीवन,नयाँ संघर्षका लागि अघि बढ ।’ त्यसअघि उनले अबका केही दिन गम्भीर छलफल र परामर्शमा रहने भनेका थिए ।

‘जिन्दगीभर अध्यक्ष ओलीको पक्षमा लडियो । तर, अहिले जुनियरलाई माथि तानेर हामीलाई अपमान गर्ने काम उहाँबाट नै भएको छ । यसले पार्टीमा पक्षपात हुन्छ भन्ने आरोपलाई बल पुर्याएको छ ।’

मनोनित कोटाबाट केन्द्रीय कमिटीमा उक्लन नपाएपछि सुदूर पश्चिमका अर्का नेता दिपक देवकोटाले पनि फेसबुकबाटै दु:ख पोखेका छन् । सातौँदेखि दशौँ महाधिवेशनसम्म ओलीको पक्षमा लागे पनि आफूलाई ओलीले अन्याय गरेको भन्दै उनले पीडा व्यक्त गरेका हुन् । कसैको प्रभावमा परेर ओलीले आफ्नो राजनीतिक यात्रा समाप्त पारिदिएको उनको आरोप छ ।

‘सातौँ महाधिवेशनदेखि दशौँ महाधिवेशनसम्म तपाईंको काँध थाप्दै आएको दिपक देवकोटालाई कसको प्रभावमा परेर तीन दशकको राजनीतिक यात्रा समाप्त पारिदिनुभयो ?’ बा सम्बोधन गर्दै देवकोटाले ओलीलाई सोधेका छन्, ‘तपाईंसँग पहिलो र अन्तिम प्रश्न-अझै पनि तपाईंसँगै छु ।’

‘सातौँ महाधिवेशनदेखि दशौँ महाधिवेशनसम्म तपाईंको काँध थाप्दै आएको दिपक देवकोटालाई कसको प्रभावमा परेर तीन दशकको राजनीतिक यात्रा समाप्त पारिदिनुभयो ?’

उनले भीम रावललाई केन्द्रीय सदस्यमा मनोनित नगरेकोमा पनि ओलीसंग चित्त दुखाएका छन् । रावल एमालेमा रहँदासम्म आफ्ना लागि सुदूरपश्चिमको नेता उनै हुने भन्दै देवकोटाले रावल बिनाको एमालेको कल्पना गर्न नसकिने प्रष्ट पारेका छन् । रावललाई उपेक्षा गर्नुको परिणाम आगामी निर्वाचनमा भोग्नुपर्ने उनको चेतावनी छ । उनले थप प्रष्ट पार्दै भनेका छन्, ‘मलाई लुकेर कुनै फाइदा लिनु छैन ।’

यता,०२८ सालको झापा आन्दोलनका नेता नरेश खरेल केन्द्रीय सदस्यमा अटाउन नसकेकोमा पनि धेरैले अचम्म मानेका छन् । झापा आन्दोलनका दौरान पक्राउ परेर ओलीभन्दा ३ वर्ष बढी,१७ बर्ष जेलजीवन बिताएका खरेल पदाधिकारीमा आउने धेरैको अपेक्षा थियो । तर, चितवनमा ३०१ जना केन्द्रीय सदस्य निर्वाचित हुँदा पाखा पारिएका खरेल मनोनितमा पनि परेनन् ।

खरेलजस्ता पाका र संघर्षबाट खारिएर आएका नेतालाई पाखा पारिए पनि भर्खरै एमालेमा प्रवेश गरेका झापाकै विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं उर्फ मार्सी भने ओलीको रोजाइमा परेका छन् । ओलीले काखी च्यापेकै कारण एमाले प्रवेश गरेलगत्तै महाधिवेशन प्रतिनिधि बनेर प्रसाईं कम्युनिष्ट पार्टीको उपल्लो तहमा पुग्न सफल भएका हुन् ।

त्यस्तै, गायिका तथा समाचार वाचिका कोमल वली पनि एमालेको केन्द्रीय कमिटीमा पुगेकी छिन् । उनलाई महाधिवेशनबाटै ओलीले केन्द्रमा तान्नुभएको हो जबकि लगातार ओलीको साथ नछाड्ने मीना श्रेष्ठलाई भने मिल्काइएको छ ।

मनोनित कोटामा नपरेकाहरुको मात्र होइन,पोलिटब्युरो गठनमा पनि केही नेता असन्तुष्ट देखिएका छन् । नाम नलेख्ने शर्तमा एक नेताले भने,’जिन्दगीभर अध्यक्ष ओलीको पक्षमा लडियो । तर, अहिले जुनियरलाई माथि तानेर हामीलाई अपमान गर्ने काम उहाँबाट नै भएको छ । यसले पार्टीमा पक्षपात हुन्छ भन्ने आरोपलाई बल पुर्याएको छ ।’

एमालेको विधानमा केन्द्रीय कमिटीका कूल सदस्यको १० प्रतिशन मनोनयन गर्ने व्यवस्था छ । महाधिवेशनबाट निर्वाचित हुन नसकेका र कमिटीमा ल्याउनै पर्नेहरुका लागि समेट्ने यसको उद्देश्य भएपनि सोअनुसार हुन नसकेको ती नेताले बताए ।

आजको बैठकमा अध्यक्ष ओलीले मनोनित हुनेहरुको नाम प्रस्ताव गर्नुभएको थियो । ओलीले प्रस्ताव गरेका नाम बैठकले पारित गरेको हो । बैठकले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटव्यूरो पनि गठन गरेको छ ।

टिप्पणीहरू