अरुले छाडेपछि मजदुरका छोराछोरी पढ्न थाले

अरुले छाडेपछि मजदुरका छोराछोरी पढ्न थाले

लमजुङको सदरमुकाम बेसिसहरमा रहेको लक्ष्मीमन्दिर प्राथमिक विद्यालय अहिले मजदुरी गर्ने अभिभावकका छोराछोरीले मात्र अध्ययन गर्ने विद्यालय बनेको छ । आफ्नै घर आँगनको विद्यालय छाडेर सामान्य सम्पन्नता भएका परिवारका छोराछोरी सबैजसो निजी विद्यालयमा धाउन थालेपछि मजदुरी गरेर जीविकोपार्जन गर्नेका छोराछोरी मात्र अहिले त्यहाँ अध्ययन गर्न थालेका हुन् ।

५० वर्षअघि स्थापित लक्ष्मीमन्दिर सामुदायिक विद्यालय अहिले मजदुरको छोराछोरी मात्रै पढ्ने थलो बनेको हो । २०४२ सालमा गाउँलेले जग्गादान र श्रमदान गरी बनाएको विद्यालयमा अहिले जम्मा ४१ जना विद्यार्थी अध्ययनरत छन् ।

निजी क्षेत्रका विद्यालय जानेको संख्या बढेको कारण अहिले उक्त विद्यालयमा विद्यार्थीको संख्या न्यून भएको हो । त्यसमा पनि नियमित रुपमा विद्यालयमा उपस्थित हुने विद्यार्थीको संख्या निकै कम छ । खाजा खुवाउने व्यवस्था नभएकाले विद्यार्थीहरु नियमित विद्यालय नआएको शिक्षकहरुको बुझाइ छ ।

ठूलो उमेर समूहका विद्यार्थी भने विद्यालय समयमा समेत मजदुरी गर्न जाने गरेका छन् । पैसा तिरेपछि गुणस्तर शिक्षा पाइन्छ भन्ने सोच बढ्दै गएपछि स्थानीयका छोराछोरी निजी विद्यालयमा जान थालेको शिक्षकहरु बताउँछन् ।

हाल विद्यालयमा एक जना काज, ३ जना दरबन्दी र एक जना बालविकास गरि ५ जना शिक्षक र एक कार्यालय सहयोगी छन् ।

टिप्पणीहरू