छिमेकबाट अत्यन्त दुःखद् खबर, गोर्खाली नाताका जर्नेलको निधन

छिमेकबाट अत्यन्त दुःखद् खबर, गोर्खाली नाताका जर्नेलको निधन

भारतमा आज दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा सेनाका प्रथम तथा बहालरत चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) विपिन रावतको निधन भएको छ । हेलिकोप्टरमा रहेका १३ जनाको निधन भएको खबर बाहिरिए पनि रावतको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको थियो । तर, भर्खरै भारतीय वायु सेनाले उनको निधनको पुष्टि गरेको छ ।

आज दिउँसो सेनाको एउटा कार्यक्रममा सहभागि भएर नयाँ दिल्ली फर्कंदै गर्दा दक्षिण भारतको तमिलनाडुको कुन्नुरमा उनी चढेको हेलिकोप्टर दुर्घटनामा परेको हो । भारतीय वायुसेवाको एमआई १७ हेलिकोप्टर दुर्घटनामा रावतकी श्रीमतीसहित सबै १४ जनाको निधन भएको छ । घना जंगलमा दुर्घटनाग्रस्त हेलिकोप्टर जलेर ध्वस्त भएको छ । तीन जना घाइतेलाई नजिकैको अस्पतालमा लगिएको बताइएको थियो ।रावत दुई वर्षअघि बहालरत भारतीय सेनाध्यक्षबाट उक्त पदमा नियुक्त भएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले सिडिएस पदको विशेष व्यवस्था गरेर सिर्जना गरिएको नयाँ पदमा रावतलाई नियुक्त गर्नुभएको थियो । उनले भारतीय रक्षा मन्त्रालय र जल, स्थल र वायु सेनाको बीचमा संयोजकको भूमिका निभाएका थिए ।

त्यसअघि पनि रावतलाई तीन जना वरिष्ठ लेफ्टिनेन्ट जनरललाई उछिनेर सेनापति बनाइएको थियो । विशेष सुरक्षा रणनीतिकारको रुपमा अघि सारिएका उनको निधनबाट प्रधानमन्त्री मोदीलाई ठूलो घाटा पुगेको छ ।

उनले तीन वर्ष स्थल सेनाध्यक्ष र दुई वर्ष सीडीएसको जिम्मेवारी वहन गरेका थिए । एक वर्ष कार्यकाल बाँकी छँदै उनको आज दुःखद् निधन भएको छ । भारतीय सेनाका अनुसार उनी आफ्नो जिम्मेवारी फत्ते गर्न राति ९ बजेसम्म कार्यालयमा बसेर काम गर्थे ।

टिप्पणीहरू