लमजुङमा अधिकांश घरेलुहिंसा घरभित्रै गुपचुप

लमजुङमा अधिकांश घरेलुहिंसा घरभित्रै गुपचुप

लमजुङमा महिलामाथि हुने घरेलुहिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित हुने गरेको छ । चालु आर्थिक वर्षमा प्रहरीमा जम्मा २४ वटा घरेलुहिंसाको उजुरी परेकोमा १८ वटा मिलापत्रैमा मिलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार गत आर्थिक वर्षमा ९२ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा परेको थियो । त्यसमध्ये ६० वटामा मिलापत्र भएको र अघिल्लो आर्थिक वर्षमा ६१ वटा घरेलुहिंसाको निवेदन परेकोमा ५२ वटामा मिलापत्र भएको बताइन्छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा डिएसपी कृष्णबहादुर कार्कीले प्रहरीमा आएको उजुरीमा धेरैजसो घरेलुहिंसाका घटना रहेको बताउँदै महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना क्रमशः बाहिर आउन थालेको जानकारी दिनुभयो ।

पछिल्लो समय स्थानीय तहको न्यायिक समितिमा पनि अधिकांश मुद्दा घरेलुहिंसाको पर्ने गरेको छ । राइनास नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समितिकी संयोजक धनकुमारी गुरुङका अनुसार कुटपिट गरेको र महिला हंसाका बारेमा खान लाउन नदिएकोलगायतका धेरै वटा उजुरी आएको देखिन्छ ।

त्यस्ता उजुरीमा दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गराएर मिलाउने गरिएको गुरुङले जानकारी दिनुभयो ।

टिप्पणीहरू