गंगालालमा कोरोनाको नक्कली रिपोर्ट, टेक्निसियन बर्खास्त

गंगालालमा कोरोनाको नक्कली रिपोर्ट, टेक्निसियन बर्खास्त

काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा सर्वसाधारणसँग रकम असुलेर कोभिड–१९ को नक्कली पीसीआर रिपोर्ट बनाउने कर्मचारीलाई अस्पतालले बर्खास्त गरेको छ । उक्त घटना पुष्टि भएपछि अस्पतालका वरिष्ठ ल्याब टेक्निसियनलाई सेवाबाटै बर्खास्त गरिएको हो ।

केन्द्रका प्रयोगशाला प्रमुखसमेत रहेका विनोदकुमार यादवले पिसिआर रिपोर्ट नक्कली बनाउने गरेको पाइएपछि उनलाई हटाइएको बताइएको छ । उनले अक्षम्य अपराध गरेकाले भविष्यमा समेत उक्त सेवाका लागि अयोग्य ठहर गरी यादवलाई निकाला गरिएको हो ।

उनले पीसीआर परीक्षणको नक्कली कागजात बनाउने, केन्द्रको लेटरप्याड दुरुपयोग गर्ने, बिनापरीक्षण रिपोर्ट निकाल्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

अस्पतालको छानबिन समितिद्वारा गरिएको अध्ययनमा यादवले विदेश जाने व्यक्तिहरूलाई परीक्षणका क्रममा कोभिड संक्रमण देखिए पनि रकम लिएर रिर्पोटलाई नेगेटिभ बनाएका थिए ।

हालसम्म उनले ९० जनाभन्दा बढी व्यक्तिको नक्कली रिपोर्ट बनाएको पुष्टि भएको छ ।

टिप्पणीहरू