पूर्वडेपुटी गभर्नरको समृद्धि आवाजमा

पूर्वडेपुटी गभर्नरको समृद्धि आवाजमा

नेपाल बैंकर्स एसोसिएसनले बैंक खाता खोल्ने सन्देश दिएको गीत बजारमा ल्याएको छ । ‘समृद्धिसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ बोलको गीत एसोसिएसनले बजारमा ल्याएको हो ।

गीतमा बैंकमा खाता खोल्दा हुने फाइदाहरु उल्लेख छ । बचत रकम जम्मा गर्न, पैसा सुरक्षित राख्न, ब्याज प्राप्त गर्न, सरकारले उपलब्ध गराउने भत्ता प्राप्त गर्न, बिमा गर्न तथा कर्जा सुविधा लिनेलगायतका फाइदालाई गीतमा समेटिएको छ ।

साथै खाता निःशुल्क र सजिलै खोल्न मिल्ने पनि गीतमा भनिएको छ । गीतमा बैंक खाता खोल्दा लाग्ने १ सय रुपैयाँ बैंकले नै जम्मा गरिदिने समेत भाका मिलाएर गाइएको छ ।

नेपाल बैंकर्स एसोसिएसनले तयार पारेको सन्देशमूलक उक्त गीतमा सीडी विजया अधिकारीले स्वर दिएका छन् । चिन्तामणि सिवाकोटीको शब्द रहेको गीतमा बसन्त सापकोटाले लय हालेका छन् ।

निराजन प्रधान, लक्ष्मी बर्देवा, जीवन भट्टराई र देशभक्त खनालको अभिनय रहेको सन्देशमूलक गीतमा ब्याकग्राउण्ड म्युजिक किशोर लामाले दिएका छन् । निसम आम्बुहाङको निर्देशन रहेको गीतको हरि हुमागाईंले छयाङ्कन गरेका हुन् ।

रविन विकको सम्पादन रहेको गीतको मधुकर बलामी र सत्यम रानाले भिएफएक्स गरेको बताइएको छ । गीतको कास्टिङ निर्देशन भने नृपेश रुपाखेतीको हो ।

सिवाकोटी नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । उनी साहित्यकार र गीतकार समेत हुन् ।

टिप्पणीहरू