संयुक्त सैन्य तालिम सकियो

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य तालिम सम्पन्न भएको छ । कात्तिक १५ गतेबाट सञ्चालित संयुक्त तालिम आज छाउनीमा सकिएको हो ।

तालिम समापन कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी, सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी निरन्जनकुमार श्रेष्ठ, युद्धकार्य विभागका प्रमुख उपरथी निर्मलकुमार थापालगायत नेपाली र अमेरिकी सैन्य अधिकृतहरुको उपस्थिति रहेको थियो ।

एक्स टेक नेल २२ नाम दिइएको उक्त तालिममा नेपाली र अमेरिकी गरि ६६ जना सैनिक अधिकारीहरुले भाग लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । तालिममा नेपाली सेनाबाट विपद् व्यवस्थापनमा खटिँदै आइरहेको डिजास्टर असेसमेन्ट एण्ड रेस्पोन्स टिम (डार्ट) बाट ४५ र अन्य सम्बद्ध निकायहरुबाट चार जना गरी जम्मा ४९ जना सहभागी थिए भने अमेरिकी सेनाका १७ जनाले भाग लिएका थिए ।

निर्देशनालयका अनुसार काठमाडौं, पोखरा र अन्नपूर्ण वेस क्याम्प इलाकामा तालिम गरिएको थियो । तालिममा शिक्षार्थीहरुलाई जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो । मंसिर ११ गते पोखरामा सञ्चालन भएको Culminating Exercise को बलाधिकृत रथी बालकृष्ण कार्कीले समेत निरीक्षण गरेका थिए ।

संयुक्त तालिमबाट दुबै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरुमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक क्षमता अभिवृद्धि हुनुका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

टिप्पणीहरू