विद्युतीय चुल्होको माग बढ्यो

विद्युतीय चुल्होको माग बढ्यो

नेपाल विद्युत प्राधिकरणले विद्युत महशुुल घटाएपछि सर्वसाधारणको भान्सामा विद्युतीय सामग्रीको प्रयोग बढ्न थालेको छ । फ्रिज, राइस कुकुर, पानी तताउने किट्लीसँगै अधिकांशको भान्सामा इन्डक्सन चुल्होको प्रयोग बढेको हो । विद्युतको महशुल घटेसँगै इन्डक्सन बजारमा चुलोको माग र बिक्रीबितरण बढेको छ ।

अहिले मुलुकको विद्युत प्रसारण तथा वितरण प्रणालीमा कुनै समस्या नभएको बताइन्छ । उत्पादित विद्युत समेत पर्याप्त उपभोग हुन नसकेपछि विद्युतको महशुल घटाइएको हो । सरकारले विद्युतको खपत बढाउन र विद्युतीय सामानको प्रयोग गर्नमा जोड दिएको छ । अन्य इन्धनलाई निरुत्साहन गर्न र विद्युतीय सामानको प्रयोग बढाउन सरकारले विभिन्न प्रोत्साहन बनाउँदै आएको छ ।

अरु बेला खासै बिक्री नहुने यस्तो चुलोको माग विद्युतको महशुल घटेसँगै ह्वात्तै बढेको छ । विद्युतीय चुल्होको व्यापार बढ्दा व्यवसायहरु पनि दङ्ग परेका छन् । यता, सरकार पनि विद्युतको प्रयोग बढाउन आग्रह गर्दै आएको छ ।

भन्सार विभागले समेत चालु आर्थिक वर्षमा इन्डक्सन चुल्होको आयात बढेको बताएको छ । पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्षमा १ लाख ५२ हजार ५ सय ८८ थान इन्डक्सन चुल्हो आयात गरिएको छ । तीमध्ये इन्फ्रारेड चुल्हो २४ सय थान आयात गरिएको छ । त्यसअघिको आर्थिक वर्ष २०७६/०७७ मा १० हजार ४ सय ३५ थान इन्डक्सन चुल्हो मात्रै आयात भएको थियो ।

ग्यासभन्दा इन्डक्सन चुल्होमा खाना पकाँउदा सस्तो पर्ने भएकाले यसको माग बढेको व्यापारीहरु बताउँछन् । खाना पकाउने ग्यासको विकल्पमा बजारमा उपलब्ध बिजुली चुल्होमध्ये इन्डक्सनमा खाना पकाउँदा सबैभन्दा सस्तो पर्ने देखिन्छ । बिजुली चुल्होमध्ये पनि इन्डक्सनमा खाना बनाउँदा पैसा र समय दुबै कम लाग्ने देखिएको हो । अहिले बजारमा ३ हजारदेखि १२ हजार ५ सयसम्ममा विद्युतीय चुल्हो पाइन थालेको छ ।

ती चुल्होमा आवश्यकताअनुसार दुई सय वाटदेखि एक हजार छ सय वाट विद्युत प्रयोग गरेर खानेकुरा पकाउन सकिन्छ । आफूलाई आवश्यकताअनुसार कति चाँडो खाना पकाउने हो त्यहीअनुसार क्षमता बढाउन सकिन्छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा छ हजार इन्डक्सन चुल्हो किन्ने कार्ययोजना अघि सारेको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले पहिले छ हजार इन्डक्सन चुल्हो खरिद गर्ने र त्यसपछि बजारको मागअनुसार थप्दै लैजाने जानकारी दिनुभयो ।

उहाँले छ हजार थान चुल्हो खरिद प्रक्रिया स्वीकृत भएर अघि बढाइएको पनि उल्लेख गर्नुभएको छ । हाल कम्पनीमा इन्डक्सन चुल्होको मौज्दात नरहेको उहाँले बताउनुभयो । बीचमा बजामार माग नभएकाले त्यस्ता चुल्हो खरिद नगरिएको उहाँले खुलाउनुभएको छ ।

नेपालमा इन्डक्सन चुल्हो बनाउने कम्पनी नहुँदा सबै विदेशबाट आयात गर्नुपर्ने हुन्छ । हालसम्म नेपालमा भारत र चीनबाट इन्डक्सन चुल्होको आयात भइरहेको छ ।

कुन चुल्हो उपयुक्त

बजारमा दुई किसिमका विद्युतीय चुल्हो पाइन्छन् । एउटा इन्डक्सन र अर्को इन्फ्रारेड हो । त्यसमा पनि इन्डक्सनलाई सस्तो र सुरक्षित मानिएको छ । इन्फ्रारेड चुल्हो हेर्दा ठ्याक्कै इन्डक्सन जस्तो देखिए पनि बिजुली अन गरेपछि यसको सतह रातो हुन्छ ।

मोडलअनुसार इन्फ्रारेड चुल्होको तल्लोभागमा एउटा धर्कोले छुट्टाएर वा छेउमा डिस्प्ले, खोल्ने र बन्द गर्ने, तापक्रम नियन्त्रण र अन्य केही स्वीच दिइएको हुन्छ । त्यो भाग चुलो चलाएका बेला पनि तात्दैन । इन्फ्रारेड विद्युतीय चुल्होमा ग्यासमा प्रयोग हुने जुनसुकै भाडा प्रयोग गर्न सकिन्छ । तर, इन्फ्रारेड चुल्होले बढी बिजुली खपत गर्छ ।

टिप्पणीहरू