गुल्मीको आन्तरिक राजनीतिमा फेरबदलको संकेत

गुल्मीको आन्तरिक राजनीतिमा फेरबदलको संकेत

नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन भएसँगै गुल्मीको आन्तरिक राजनीतिमा फेरबदलको सम्भावना बढेको छ । २०५१ सालदेखि २०७० सालमा दुईवटा निर्वाचन क्षेत्रमा काँग्रेसले जितेको बाहेक वामपन्थले प्रायः गुल्मीलाई आफ्नो पकडमा राख्दै आएको छ । तर त्यही एमालेले आगामी निर्वाचनमा दुईवटै निर्वाचन क्षेत्रबाट आफ्नो बिरासत गुमाउने चर्चा चल्न थालेको छ ।

गुल्मीकै म्यालपोखरीमा जन्मिएर विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ रामकुमारी झाँक्री नेकपा (एस) को सचिव हुँदै शहरी विकासमन्त्री भएपछि एमाले नेता गोकर्ण बिष्टले पकड जमाउँदै आएको गुल्मीको २ नम्बर निर्वाचन क्षेत्र डगमगाउने स्थितिमा पुगेको हो । हाल गाउँमा नेकपा (एस) को सामान्य प्रभाव देखिए पनि गुल्मी बाहिर विशेषगरी काठमाण्डौ र बुटवलमा रहेका एमाले युवाहरु ‘झाँक्री दिदी’ भन्दै नेकपा एसको समर्थनमा लागेका छन् ।

लामो समयदेखि एमालेमा सक्रिय नरेश भण्डारी,हिमाल थापा र श्रीराम महतजस्ता युवाहरु अहिले गुल्मीमा नेकपा एसको कमाण्ड गरिरहेका छन् । केपी ओली प्रधानमन्त्री छँदा एमाले नेता बिष्टले २२ भाइ र १० भाइका नाममा आफ्नै पार्टीको सरकार गिराउन लागेको आरोप लागेको छ । संघीयता लागू भएसँगै दुईवटा निर्वाचन क्षेत्र भएको गुल्मी २ मा मुसिकोट नगरपालिका,रेसुङ्गा नगरपालिकाको केही भाग र इष्मा, मालिका,धुर्कोट र मदाने गाउँपालिका छन् ।

“सुदर्शन बरालहरु माओवादीमै फर्किएपछि १ नम्बर क्षेत्र एमालेको निम्ति झन् चुनौतीपूर्ण बनेको छ । “

यसअघिको चुनावी परिणामलाई हेर्दा समग्र गुल्मीमा कम्युनिष्टप्रति आकर्षण घट्दो रहेको बताइन्छ । २०७० सालको चुनावमा एमालेबाट गोकर्ण बिष्टले गुल्मी क्षेत्र नम्बर ३ बाट १८ हजार मत ल्याउँदा काँग्रेसका त्रैलोक्यप्रताप सेनले १० हजार,नेकपा माओवादीबाट वामदेव क्षेत्रीले ६ हजार मत ल्याएका थिए । अन्य पार्टीले २ हजार चानचुन भोट पाए ।

तर २०७४ सालको संघीय संसदको चुनावमा नेकपा एमाले र नेकपा माओवादीबीच गठबन्धन बनाएर चुनाव लड्दा एमालेको पकड रहेको मुसिकोट नगरपालिकासमेत साबिकको ३ नम्बर क्षेत्रमा थपिँदा पनि काँग्रेस र गठबन्धनको अन्तर जम्मा १५ हजारको हाराहारीमा थियो । तर २०७० मा साबिकको ३ नम्बर क्षेत्रमा १० हजार मत ल्याएको काँग्रेसले चार वर्षपछि २० हजार बढी मत ल्यायो ।

यो हिसाबले नयाँ मतदाताहरुमा काँग्रेसमोह देखिएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई एमालेमा रहँदा पनि सशक्त ढंगले केपी ओलीको एकलौटीविरुध्द संघर्ष गरेको र संघर्षबाटै माथिल्लो तहसम्म पुगेकी भन्दै माइती गाउँका बूढापाकाले बहादुर छोरी भनेका छन् ।

गुल्मी २ मा खिलध्वज पन्थीलाई अगाडि सारेर गोकर्णको प्रभाव तोड्ने दाउँमा काँग्रेस कार्यकर्ता अग्रसर भएका छन् ।

हालका सांसद बिष्टले भोट बैंकको रुपमा मात्र प्रयोग गरेको तर विकास निर्माणको सवालमा कम प्राथमिकतामा पारिएको (छल्दीबारी,मदानेधुर्कोट गाँउपालिका) को भेगले मन्त्री झाँक्रीसँग विकासको आशा गरेको बताइन्छ । स्वयम् मन्त्री झाँक्रीको माईती गाउँ भने मदाने गाउँपालिका हो । छल्दी पारिका बिष्टको इष्मा गाउँपालिकालगायत मालिका गाउँपालिका र मुसिकोट नगरपालिकालाई बढी प्राथमिकता दिएको उनीमाथि आरोप लाग्दै आएको छ ।

गुल्मीको १ नम्बर एमाले नेता प्रदीप ज्ञवाली र काँग्रेस नेता चन्द्र भण्डारीको निर्वाचन क्षेत्र हो । २०७४ सालको चुनावमा काँग्रेस नेता भण्डारीले गठबन्धनसँग चार हजार चानचुन मत अन्तरले हारेका थिए । अहिले सुदर्शन बरालहरु माओवादीमै फर्किएपछि १ नम्बर क्षेत्र एमालेको निम्ति झन् चुनौतीपूर्ण बनेको छ ।

लामो समयदेखि मुर्झाएको गुल्मी २ को काँग्रेस भुवन श्रेष्ठ, खिलध्वज पन्थी नेतृत्वमा पुगेपछि ब्युँतिएको हो । पछिल्लो समय नयाँ अनुहार धेरैजसो काँग्रेसतिर देखिएको छ । तल्लो तहका जनतासँग भिज्न सक्ने र विकास निर्माणको काममा समेत लगातार खट्ने गरेका काँग्रेस जिल्ला सचिव खिलध्वज पन्थीको निर्वाचन क्षेत्र पनि त्यहीँ पर्दछ।

यो समाचार तयार पार्दासम्म अधिवेशनले तातेको गुल्मीमा सभापतिका दाबेदार खिलध्वज पन्थी सबैभन्दा बढी मत पाएर महाधिवेशन प्रतिनिधि छानिएका छन् । कानुन र चार्टर्ड एकाउण्टेन्ट पृष्ठभूमिका युवा समेत महाधिवेशन प्रतिनिधिमा आएपछि गुल्मी काँग्रेसमा नयाँ रौनक थपिएको छ । हालसम्मको प्रतिनिधि छनौट र क्षेत्र/ गाउँपालिकाको अधिवेशनलाई हेर्दा खिलध्वज पन्थीको पल्लाभारी हुने देखिएको छ ।

पूर्वसभापति श्रेष्ठ पुनः सभापतिमा उठ्ने अनुमान गरिए पनि अन्तिममा नउठ्ने घोषणा भएपछि खिलध्वज पन्थी र बेद मगरले सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । आउँदो संघीय चुनावमा गुल्मी २ मा खिलध्वज पन्थीलाई अगाडि सारेर गोकर्णको प्रभाव तोड्ने दाउँमा काँग्रेस कार्यकर्ता अग्रसर भएका छन् ।

पार्टी संगठनमा समेत गुल्मी २ मा विगतदेखि आफ्नो प्रभाव राख्दै आएका बिष्टले अधिकांश पालिकाको पार्टी नेतृत्वमा यसपटक समेत आफू निकटलाई पारे पनि अन्य पदाधिकारीमा अध्यक्ष ओली समूहको दबदबा देखिएको छ ।

टिप्पणीहरू