भीम रावलको शक्ति अब कति ?

भीम रावलको शक्ति अब कति ?

दशौँ महाधिवेशनमा अध्यक्ष उठ्ने घोषणापछि उपाध्यक्ष भीम रावलको शक्तिबारे चर्चा शुरु भएको छ । एउटै कक्षा दोहो¥याएर नपढ्ने आफ्नै पूर्वघोषणाविपरीत सर्वमान्य नेता बन्ने प्रयासमा रहेका केपी ओलीलाई रावलले चुनौती दिएपछि एमालेभित्र आन्तरिक शक्ति समीकरण र जोडघटाउ हुन थालेको हो ।

राष्ट्रिय राजनीतिमा सधैं विद्रोही नेताको पहिचान बनाएका रावलले एमालेको नवौँ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उपाध्यक्ष जितेका थिए । त्यतिबेला तत्कालीन वरिष्ठ नेता माधव नेपाल प्यानलबाट लोकप्रिय मतका साथ उपाध्यक्ष जितेका रावल अहिले फरक राजनीतिक धरातलमा उभिएका छन् ।

नवौँ महाधिवेशनमा मत दिने कार्यकर्ताको ठूलो पंक्ति उनीसँग छैन । जुन विचार समूहबाट उपाध्यक्ष जितेका थिए, त्यही समूह साथमा नहुँदा रावलको सांगठनिक जग नै हल्लिएको छ ।

त्यसो त, एमालेको संगठनमा रावल देशव्यापी प्रभावी छैनन् । सुदूरपश्चिम प्रदेश उनको सांगठनिक शक्तिको एक मात्र स्रोत हो,जहाँ एमाले विभाजनपछि ठूलो धक्का लागेको छ । खासगरी १० बुँदे सम्झौताका आधारमा तत्कालीन माधव नेपाल समूह छाडेर एमालेमै बसेपछि रावल सुदूरपश्चिममा कमजोर बनेका हुन् ।

सुदूरपश्चिम प्रदेशसभामा तत्कालीन माधवपक्षका १७ मध्ये १३ जना सांसद अहिले रावलसँग छैनन् । जसमध्ये अधिकांशलाई रावलका खास मान्छेको रुपमा हेर्ने गरिएको थियो । अहिले राष्ट्रियस्तरमा चिनिएका कैलालीका झपट रावल र बाजुराका प्रकाश शाह मात्र रावलसँग छन् । झपट संघीय सांसद पनि हुन् । कैलालीमा उनको धेरथोर प्रभाव त छ,तर महाधिवेशन प्रतिनिधि चयनमा उनको भूमिका प्रभावकारी देखिएन ।

आफ्नै गृहजिल्लामा पनि रावल निकै कमजोर देखिएका छन् । प्रदेशसभामा अछामका ४ एमाले सांसदमध्ये ३ जना मना साउद, दुर्गाकुमारी कामी र बलबहादुर सोडारी रावलसँग छैनन् । राष्ट्रियसभाका सांसद तथा जिल्ला संयोजक शेरबहादुर कुँवरले पनि साथ छाडेका छन् । कुँवर दोस्रो संविधानसभामा सांसद जितेका प्रभावशाली नेता हुन् । रावलकै जोडबलमा तात्तातै उनलाई राष्ट्रियसभा सदस्य बनाइएको थियो ।

०६४ सालको संविधानसभा सदस्य रहेका भैरे कामी पनि रावलसँग छैनन् । एमाले विभाजन हुनुअघि नै सांसद यज्ञ बोगटीले साथ छोडेका थिए । रावलको मूल पिलर मानिएका सुदूरपश्चिमका सांसदहरू तारा लामा, दीर्घ सोडारीलगायत सबै समाजवादतिर छन् ।

विगतमा रावलका खास भनेर चिनिएका स्थानीयस्तरका अधिकांश नेताले पनि एकीकृत समाजवादी रोजेका छन् । अछामकै साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर अहिले रावलसँग छैनन् । युवा संघको केन्द्रीय उपाध्यक्ष भैसकेका उनी सुदूरपश्चिममा राम्रै प्रभाव राख्ने नेता मानिन्छन् ।

यता, १० बुँदे सम्झौता गरेर एमालेमै रहेका ‘१० भाइ’ समूहका नेताहरूमध्ये पनि घनश्याम भुसाल वाहेक अरु सबै रावलसँग छैनन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले त रावलको उम्मेदवारीलाई लिएर चर्को असन्तुष्टि नै जनाइसकेकी छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेर रावलले गल्ती गरेको शाक्यको सार्वजनिक टिप्पणी आइसकेको छ ।

त्यसो त,प्रतिनिधि चयनमै देशभरबाट बढारिएको १० भाइ समूहबाट झण्डै दुई सयको हाराहारीमा मात्रै प्रतिनिधि छानिएको अनुमान गरिएको छ । यो समूह आफैँमा तितरबितर भैसकेकाले सबै मत रावललाई आउने सम्भावना पनि छैन । त्यसैले कतिपयले रावलले डेढ सय मत कटाउन नसक्ने दावी गरेका छन् । हुन त, रावल राजनीतिक चतुर खेलाडी हुन् ।

सबै हरहिसाब र तयारी गरेरै उनले उम्मेदवारी घोषणा गरेका होलान् । भन्नेहरूले त रावलको उम्मेदवारी घोषणालाई बरिष्ठ उपाध्यक्षको बार्गेनिङ पनि भनेका छन् । स्वयं बालकोट निकटहरूले वरिष्ठ उपाध्यक्ष पाउने सुनिश्चितता भए रावलले उम्मेदवारी फिर्ता लिने दावी गरेका छन् ।

एकथरीलाई चैं रावल आफ्नो उम्मेदवारीमा अन्तिमसम्म टिक्नेमा शंका छ । भावावेशमा निर्णय गरिहाल्ने र तत्कालै युटर्न हुने रावलका विगतका कतिपय अभ्यासले पनि त्यस्तो आशंका गर्नेहरूलाई ठाउँ दिएको हो । तर, रावल आफैंले भने कुनै हालतमा उम्मेदवारी फिर्ता नहुने दावी गरेका छन् ।

महाधिवेशनले दिने परिणाम जेसुकै भए पनि रावलको उम्मेदवारीले आफूलाई निर्विकल्प नेताका रुपमा अघि सार्ने केपी ओलीको तयारीमा भने तगारो तेस्र्याइदिएको छ । उनी आफ्नो उम्मेदवारीमा अन्तिमसम्म उभिए भने सर्वमान्य नेता हुने ओलीको चाहनामाथि ब्रेक लाग्नेछ । रावलले हारे पनि प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जनताको बहुदलीय जनबाद (जबज) को मान्यताले जित्नेछ । त्यसो त, अहिलेको एमालेमा ओलीविरुद्ध उम्मेदवारी दिने हिम्मत गर्नु नै रावलको जित हो भनिन्छ ।

टिप्पणीहरू