बालकोटमा कोमल वली धाएको धायै

बालकोटमा कोमल वली धाएको धायै

एमालेको १० औं महाधिवेशन पर्सि चितवनमा शुरु हुँदैछ । पार्टीभित्रका सन्तुष्ट,असन्तुष्ट र पूर्वमाओवादी सबैलाई मिलाएर नयाँ नेतृत्व बनाउनुपर्ने चेपुवामा स्वयम् अध्यक्ष केपी शर्मा ओली पर्नुभएको छ । भलै उहाँले सार्वजनिक खपतको लागि हिजो राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सामान्य अवस्थामा सहमति नभए चुनाव भनेर जनाउ दिनुभएको छ ।

तर यसअघि नै आगामी नेतृत्व समूहमा आफू अटिने वा नअटिने भन्ने आशंकाले गाँजेपछि नेता, सांसदहरुको भेट्ने लर्कोले बालकोटमा एक मीनेट पनि फुर्सद नभएको स्रोत बताउँछ । प्रायः सबैले अध्यक्षसँग एक्लाएक्लै भेटघाट गरेका छन् । सो क्रममा अस्ति सोमबार बिहानको भेट विशेष रहेको बताइन्छ ।

अध्यक्ष ओलीको एकल पहलमा प्रतिनिधिसभा र राष्ट्रियसभाको माननीय हुनुभएका पूर्व डीआईजी नवराज सिलवाल र पूर्व समाचारवाचिका तथा गायिका कोमल वोलीले झण्डै दुई घण्टा छुट्टाछुट्टै भेटेर आफ्ना कुरा राख्नुभएको हो । सोमबार बिहान सिलवालले भेटेपछि वलीले १० बजेदेखि सवा १२ बजेसम्म एक्लै भेट्नुभएको थियो । त्यसपछि पूर्वसभामुख तथा पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटेर आफ्ना कुरा राख्नुभएको छ ।

आगामी फागुनदेखि राष्ट्रियसभा सदस्यको मिति सकिने वलीले पार्टी नेतृत्व समूहको निम्ति आग्रह गर्नुभएको बालकोट निकटस्थहरु बताउँछन् । पार्टीको संशोधित बिधानले केन्द्रीय सदस्यमा चुनिन पार्टी सदस्य भएर कार्यरत रहेको अवधि तोकिएको छ । केन्द्रीय सदस्य हुन १० वर्षको प्रावधान राखिएको छ । तर वली र सिल्वाल केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि मनोनित भएकाले कागजमा एमाले बनेको चार वर्ष पुग्दैछ ।

अर्का सांसद सिलवालको पनि अर्को वर्ष माननीय भएको पाँच वर्ष पुग्दैछ । त्यसैको सेरोफेरोमा एमाले बनेकाले उहाँको हकमा पनि १० वर्षे आकर्षित हुने भएपछि समस्या देखिएको हो । केन्द्रीय सदस्य बन्न पार्टी विधानले रोकेपछि माननीय वलीले बाको अघिल्तिर अरुले सुन्नेगरी ‘सुँक्क सुँक्क’ गरेपछि कुरो बाहिर आएको हो ।

त्यसपछि सोमबार दिउँसो खाजा खाने समय भेटघाटको क्रममा नेम्वाङले स्पष्टसँग ‘मेरो पोजिसन के हुने हो अध्यक्ष कमरेड ?,’ भन्नुभएको बुझिएको छ । नेम्वाङको हकमा अध्यक्षले ‘नआत्तिनुस्’ भनेर जवाफ दिनुभएको स्रोतको दाबी छ ।

टिप्पणीहरू