सरकारलाई बदनाम गराएर सरुवा

सरकारलाई बदनाम गराएर सरुवा

एक जना ‘बदनाम सचिव’ अख्तियारको कारबाही छल्न ‘डन मन्त्री’को शरणमा पोखरा पुगेका छन् । भ्रष्टाचारमा उसै त बदनाम छ, प्रदेश २ । सोही प्रदेशमा बसेर लामो समय खेलोफड्को गर्दै आएका यामप्रसाद भुसालले सरुवा मिलाएर गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा दीपक मनाङेसँग सहकार्य गर्ने भएका छन् ।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनी कार्यरत रहँदा ‘साइकल काण्ड’ घट्यो । अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेसँगै त्यसले राष्ट्रिय राजनीतिमै एक खालको तरंग ल्यायो । सोही प्रकरणमा जोडिएका मुख्य पात्र अख्तियारको कारबाही छल्न रातारात डनमन्त्री मनाङेको शरणमा पुगेका हुन् ।

मुख्यमन्त्री कार्यालयबाट भएको साइकल खरिदको टिप्पणी उठाउनेदेखि सबै खालको आर्थिक कारोबारमा प्रत्यक्ष संलग्न उनी । निलम्बनमा पर्नुपर्ने व्यक्ति रातारात सरुवा भएपछि सो प्रदेशका मन्त्रीदेखि कर्मचारीसम्म अचम्भित छन् ।

प्रमाण नष्ट हुने र छानबिनमा असर पर्ने जान्दाजान्दै अख्तियारले उनलाई कुनै कारबाही गर्न सकेन । भुसाल नवलपरासीका स्थायी बासिन्दा । अहिलेका उद्योग सचिव अर्जुन पोखरेलदेखि पूर्वमन्त्री हृदयेश त्रिपाठीसमेत सोही ठाउँका ।

भुसाल खासमा लेखा समूहका कर्मचारी । सडक विभाग मातहत एडिबीको सहयोगमा सञ्चालित विशालनगरस्थित कार्यालयमा कार्यरत रहँदा विवादमा मुछिएका । त्यहाँ बसेर साइकल काण्डमात्र होइन, मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाउ अभियानदेखि मुख्यमन्त्री स्वच्छता अभियान जस्ता सबै कार्यक्रममा संलग्न भए ।

स्थायी रूपमा काठमाडौं बस्ने छोरा र श्रीमतीलाई विभिन्न अभियानमा नियुक्ति दिएर मासिक तलब बुझ्थे । हाल संघीय सरकार अर्थ मन्त्रालयको बजेट महाशाखाअन्तर्गत प्रमुख रहेका भूपाल बराललाई त्यतिखेर सामान्यबाट सरुवा भई सो प्रदेशमा खटाइएको थियो । सिनियर सहसचिव भूपाललाई खासै काम नदिई प्रमुख सचिव अर्जुनले महत्वपूणर् आर्थिक जिम्मेवारी दिँदा भुसालको चुरीफुरी बेग्लै थियो ।

यो बीचमा पटक-पटक भुसालको सरुवाको कुरा उठ्थ्यो तर कहिल्यै सरुवा भएन । जब साइकल काण्डमा अख्तियारको वक्रदृष्टि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पर्‍यो आफू डामिने डरले सरुवा मिलाएर गण्डकी प्रदेश पुगेका हुन् ।

लोकदर्शन रेग्मी बेलायतको राजदूतबाट देउवा सरकारले फिर्ता बोलाएपछि अहिले कोटेश्वरस्थित घरमै दिन काटिरहेका छन् । उनी अर्थ मन्त्रालयमा हाकिम हुँदा भूपाल दुई नम्बर कर कार्यालय लाजिम्पाटका प्रमुख थिए । सचिवलाई भेट्न पुग्दा भूपाललाई वास्ता गर्दैनथे, उनको नमस्कारसमेत फर्काउँदैनथे र बस्नसम्म भन्दैनथे ।

त्यतिसम्म पूर्वाग्रह थियो लोकदर्शनको भूपालप्रति । अहिले उनै भूपाल सोही मन्त्रालयको शक्तिशालीमध्ये एक मानिने बजेट महाशाखामा हाकिम भएका छन् र वर्ष दिनभित्रै सचिवमा उक्लनेवाला छन् ।

टिप्पणीहरू