शिक्षक–कर्मचारीलाई दलको सदस्यता नदिनु : निर्वाचन आयोग, त्यसो गरे पार्टी प्रणाली कमजोर हुन्छ : प्रचण्ड

शिक्षक–कर्मचारीलाई दलको सदस्यता नदिनु : निर्वाचन आयोग, त्यसो गरे पार्टी प्रणाली कमजोर हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताउनुभएको छ । आज पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले उक्त कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने भएको छ ।’ नेपालका सबै राजनीतिक दललाई जनतामा स्थापित गराउने काम शिक्षकहरुले नै गरेको भन्दै उहाँले शिक्षकहरुले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति रहेको आरोप लगाउनुभयो ।

उहाँले शिक्षकहरुलाई प्राविधिक रुपमा अप्ठेरो नपर्ने गरि राजनीति गर्ने वातावरण बनाइने पनि उल्लेख गर्नुभएको छ ।‘तपाईंहरुलाई अप्ठ्यारो नपर्नेगरी सक्रियतापूर्वक जनताकोबीचमा काम गर्ने वातावरण बनाइन्छ, बनाउनुपर्छ, तपार्ईंहरु दुविधामा नरहनु होला ।’ अध्यक्ष दाहालले शिक्षकहरुलाई राज्यले अन्याय गरेको पनि बताउनुभयो । शिक्षकहरुलाई राज्यले विभेदमा पारेका कारण शिक्षकहरुले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उहाँको तर्क छ ।

अध्यक्ष दाहालले अहिले माओवादी केन्द्रको भागमा शिक्षा मन्त्रालय रहेकाले शिक्षकहरुको समस्या समाधानका लागि आफ्नो पार्टीले सकेको काम गर्ने बताउनुभयो । तर आजै निर्वाचन आयोगले राजनीतिक दलहरुलाई कुुनै पनि शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता नबाँड्न निर्देशन दिएको छ ।

आयोगमा दर्ता भएका राजनीतिक दलका महाधिवेशनमा बहालरत शिक्षक, कर्मचारी, प्राध्यापकहरू दलका महाधिवेशनमा भाग लिने, प्रतिनिधि चयन हुने गरेको समाचार बाहिरिएपछि आफूले ध्यानाकर्षण गराउँदै दलहरुलाई उक्त निर्देशन दिएको आयोगले बताएको छ ।

टिप्पणीहरू