​चर्काे कुरा, आफ्नै मान्छेको पिठमा छुरा

प्रवक्ता नै नभएसरि प्रधानमन्त्री स्वयं सबैका आवाज र आक्रोशविरुद्ध अरिंगालसरि खनिन थालेपछि सरकारमाथि पनि चौतर्फी घेराबन्दी शुरु भएको छ । 

सिके राउत, नेपाली कांग्रेस, राजपापछि विप्लव समूह यसखाले घेराबन्दीमा सामेल भएको पाइएको हो । निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा एउटा नागरिक समाज र महिला समुदाय तातिरहेकै बेला त्यसलाई सरकारविरोधी हतियारको रूपमा सोझ्याउन विप्लव समूहले राम्रै योजनाका साथ कार्यकर्ता परिचालन गर्न थालेको स्रोतको दावी छ । यसक्रममा सुदूरपश्चिम (कञ्चनपुर) केन्द्रित आक्रोश अभियान सञ्चालन गर्न विप्लव नेतृत्वको नेकपाले विद्यार्थीका मेची इञ्चार्ज हरिश भट्टलाई सुदूरपश्चिम पठाएको बताइन्छ भने पार्टीको पश्चिम कमाण्ड इञ्चार्ज धर्मेन्द्र बाँस्तोला, पोलिट्व्युरो सदस्य भरत बम, कैलाली सचिव प्रकाश मल्ल र विद्यार्थीका केन्द्रीय सदस्य वीरेन्द्र साहले समेत ढुक्कैसँग मोर्चाबन्दी गरेको रिपोर्ट प्रधानमन्त्री कार्यालय पुगेको छ ।

झण्डै–झण्डै विप्लवको अंगरक्षकको हैसियतमा रहेका चन्द्रबहादुर केसी (असल) समातिएपछि कतिपय व्यक्तिगत कुरा खुलेकोमा दोस्रो मर्यादाक्रमका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को गिरफ्तारीले सांगठानिक गोपनीयतासमेत छताछुल्ल हुन गएको अवस्थामा उक्त समूह नयाँ रणनीति र सञ्चार प्रणाली बनाउन र व्यवस्थित गर्न बाध्य भएको बताइन्छ । सैन्य फाँट हेर्ने जिम्मेवारीप्राप्त सल्यानका केन्द्रीय सदस्य चन्द्र बुटवलस्थित भारतीय पेन्सन क्याम्पमा विष्फोटन गराएको तस्बिर मोबाइलबाट ट्रान्सफर गरेपछि संगठित अपराधअन्तर्गत २५ दिनअघि समातिएर भैरहवा पठाइएका छन् भने प्रकाण्डको साथबाट पेनड्राइभ, ल्यापटप र डायरी फेला परेर त्यसैको आडमा उक्त कम्युनिष्ट पार्टीका भित्री कुरा पत्ता लगाउन सरकारलाई सफलता हात लागेको स्रोतको दावी छ । 

त्यसो त, निर्मला हत्याकाण्डविरोधी आन्दोलनको अग्रपंक्तिमा रहेका केही पात्रको गतिविधिलाई पोहोरसम्म रूपन्देहीमा आतंक मच्चाउने मनोज पुन गिरोहले परिचालन गरेको (राजनीतिक) दस्तासँग पनि तुलना गरी अनुसन्धान हुन थालेको छ । ०७३ पुस ४ गते एमाले युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारी र ०७४ पुस २१ मा एकै ठाउँका वसन्त पौडेलको हत्या भएपछि निस्किएका जुलुसहरूमा विदेश बसेर तिनै मनोज पुनले एमालेका हस्तीहरूलाई परिचालन गरेका थिए । मनोज फागुन ९ गते फेक इन्काउन्टरमा मारिएको दुई महिनापछि उनका मोबाइल र ल्यापटपको कनेक्सन हेर्दा बल्ल त्यतिबेला आफ्नै मान्छेको हत्यामा मतियारको भूमिका खेलेका पार्टी कार्यकर्ताहरूले देखाएको नौटंकी र अपराधकर्मको पोल खुलेको हो । 

भएको के थियो भने, एमाले क्षेत्रीय अध्यक्ष नीलकण्ठ पौडेलका छोरा वसन्त बुटवल क्षेत्रमा काठ उद्योग चलाउँथे । र, उनीसँग मनोज ग्याङले १० लाख रूपैयाँ मागेको थियो । त्यो रकम प्राप्त हुननसक्दा पाल्पा जेलबाट छुटेका अपराधीहरू लगाएर मनोजले वसन्तको हत्या गर्न लगाए । उक्त हत्याकाण्डविरुद्ध एक हप्तासम्म बन्दलगायत विरोधका कार्यक्रम चल्यो । त्यसको अगुवाई तिनैले गरेका थिए, जो मनोजलाई अनेक कार्यक्रमको लाइभ रिपोर्टिङ गरिरहन्थे र उनैको निर्देशनअनुसार प्रदर्शनलाई हिंसात्मक बनाउने, भिडलाई उत्तेजनामा ल्याउने र सुरक्षाकर्मीसँग भिड्ने दिशातर्फ उन्मुख गराउने काममा केन्द्रित रहन्थे । 

यसरी अपराध र राजनीतिको दोहोरो भूमिकामा देखिने गरी संलग्न पात्रहरू थिए, एमालेसम्बद्ध युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल, अर्का केन्द्रीय सदस्य ध्रुवको भाइ उत्तम आचार्य, माओवादी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र मदिरा उद्योगी हरि श्रेष्ठ । यी चारैजना अहिले आफ्नै साथीको हत्या र डनसँगको संगठित अपराधमा जेल जीवन भुक्तान गर्दैछन् भने त्यही काण्डमा एकअर्कामाथि गुटगत गालीगलौज चल्दै जाँदा देवदह नगरपालिकाको चुनाव एमालेले हार्नुपरेको र जिल्ला कमिटी सदस्य सिद्धिचरण भट्टराईले निलम्बित हुनु परेको थियो ।

उता, निर्मला बलात्कार काण्डविरोधी आन्दोलनमा कालिकोटदेखि सुर्खेतसम्मका विप्लवनिकट विद्यार्थीहरू सहभागी रहेको प्रारम्भिक रिपोर्ट छ । साउन २१ गते बिहान ४ बजे जमलको पुलमा प्रेसरकुकर बम फिट गर्दागर्दै समातिएका दुईजना पनि सोही समूहको विद्यार्थीका काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य थिए । अहिले निर्मला बलात्कार प्रकरण राष्ट्रिय मुद्दा बनेको छ । स्वयं सत्तारुढ नेकपाकै कार्यकर्तासमक्ष पनि ठूलो नैतिक समस्या छ । केही नबोलौँ, तल फिल्डमा जान गाह्रो पर्ने, बोलौँ पार्टीभित्रैबाट कोपभाजनमा परिने । अनि, सुरक्षाकर्मीहरू आफैँ मनोबल गुमेको अवस्थामा रिस्क मोल्नै गाह्रो । अनुसन्धान गर्न अप्ठेरो ।

भीडले कसैप्रति औँला तेस्र्यायो, निलम्बित भइहाल्ने । यस्तै हुलमुलमा पर्दा सुन तस्करी काण्ड र सनम शाक्य हत्याकाण्डमा पुर्पक्षको निम्ति जेल परेका एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसी अदालतबाट छुटेर आइसके । काममा त्रुटि या लापरवाही र अपराधमा संलग्नता एउटै कुरा हुँदै होइन । अनुसन्धानमा कैफियत देखिए अपराध संहिताले ६ महिना थुन्र्ने प्रावधान नै ल्याइसक्यो । चरम लापरवाहीमा कारवाही गर्न बाटो फुकिसक्यो । तर, यहाँ अझै पनि भीडले केसम्म गर्न सक्छ भन्ने कुरा छर्लंग भइसकेको अवस्था छ ।

टिप्पणीहरू