​‘रानी’ भन्नमा पूरै रोक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा आयोजित बिम्स्टेक सम्मेलनमा गरेको घोषणाबमोजिम सेप्टेम्बर १० देखि पुणेमा सम्पन्न संयुक्त सैन्य अभ्यासमा नेपालको सक्रिय सहभागितासम्बन्धी निर्णय रद्द गरिएसँगै नेपालमा केही विदेशी सैनिकलाई दिइँदै आएको तालिम अस्ति सोमबार सकिएको छ ।

सन् १९७४ को खम्पा विद्रोहताका नै चीनसँग लड्नका लागि तिब्बती विद्रोहीहरुले कस्तो राम्रो ठाउँ छानेका रहेछन् भने, ११ हजार पाँच सय फिट अग्लो जमिनमा भव्य क्याम्प । त्यहीँ नेपाली सेनाको पहाडी गुरिल्ला युद्धसम्बन्धी तालिम केन्द्र छ । जहाँ विदेशीसहित दुई दर्जनसम्मलाई दुई महिना लगातार तालिम दिने प्रचलन थियो । त्यही प्रयोजनका लागि विभिन्न देशबाट आएका सैनिकहरु घर फर्कने चरणमा पुगेका छन् । पोखराबाट हिँडाएर विदेशी तालिमेलाई त्यहाँ लगिन्छ । बाटोभरि अल्टिच्युडमा अभ्यस्त बनाउँदै पु¥याउने क्रममा उनीहरू जोमसोममाथिको कैसाङबाट हिजोदेखि तल झर्न लागेका छन् । 

उता, नयाँ आउने प्रधानसेनापतिले शुरुशुरुमा निक्कै जोश–जाँगरका साथ अनेकन योजना ल्याउने चलन पुरानै हो । त्यही परम्परामा क्रमभंग गर्दै पूर्णचन्द्र थापाले पनि केही न केही गर्ने छाँट देखाएका छन् । जस्तो कि, यसअघि भएभरका जर्नेल पत्नीलाई सबैले ‘रानीसा’ब’ भन्नैपर्ने चलन थियो । तर, अबदेखि सबैलाई ‘म्याडम’ मात्रै भन्न निर्देशन दिइएको छ । पत्नीलाई मात्र हैन, पूर्णचन्द्रले आफैँमाथि पनि नियन्त्रण गरेका छन्– अबदेखि ब्यारेकहरूमा सेनापतिको फोटोसमेत नराख्न निर्देशन दिएर ।

नयाँ सर्कुलरअनुसार आइन्दा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र वर्तमान परमाधिपतिका हैसियतले राष्ट्रपतिबाहेक कसैको पनि फोटो राख्न पाइने छैन । न प्रधानसेनापति, न बाहिनी, पृतना, गण र गुल्मपति– कसैको पनि फोटो झुण्ड्याउन बर्जित गरिएको हो । पल्टनका वार्षिकोत्सवको नाममा हुने ठुल्ठूला भोजहरुमा समेत रोक लगाइएको छ । विवाहभोजहरुका नाममा अनावश्यक तामझाममाथि रोक लगाउँदै कुनै पनि भोजमा निकटस्थ पारिवारिक सदस्यबाहेक भएभरका जर्नेल, कर्णेलहरु बोलाउन अनिवार्य छैन । खेलकुदका नाममा फण्ड कलेक्सन बन्द गर्ने अर्को सर्कुलर छ । घरमा सेनाका कामदार राख्नेदेखि शान्ति सेनासम्मको कोटा कटौती गर्न पनि अर्को उर्दी गएको छ ।

टिप्पणीहरू