अध्यक्षलाई बहुमतको नाममा हौस्याउने को को ?

अध्यक्षलाई बहुमतको नाममा हौस्याउने को को ?

प्रतिनिधिसभा विघटनको दोष र पार्टी विभाजनको पीडा एकैसाथ भोगिरहेको नेकपा एमाले संसदको पहिलो पार्टी भएर पनि प्रतिपक्षी बेञ्चमा छ । गत निर्वाचनमा माओवादीसँग चुनावी तालमेल गरेर ठूलो दल बनेको एमालेले त्यसैको बलमा संघ र चार वटा प्रदेश सरकारको एक्लौटी नेतृत्व गर्ने हैसियत बनाएको थियो ।

पाँच वर्षका लागि सरकारको नेतृत्व गर्ने जनमत पाएर सत्तामा उक्लिएको एमाले अल्पकालमै सत्ताच्युत हुनुका पछाडि पार्टी विभाजन नै मुख्य कारण हो । नेकपा हुँदै एमालेसम्म विभाजित हुनुमा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलिलाई मुख्य मान्नेहरु धेरै छन् । विपक्षी पार्टीहरुले मात्र होइन,एमालेकै नेताहरुले पनि पार्टीभित्रको समीकरण मिलाउन नसक्दा ओलीले अकल्पनीय सत्ता बहिर्गमन भोग्नुपरेको बताउने गरेका छन् ।

“त्यसो भए अध्यक्ष ओली किन त्यसरी हौसिनुभएको होला त ? ओलीलाई खुशी बनाउन केही नेताहरुले गलत रिपोर्टिङ सुनाउने गरेको उनको आरोप छ । जसका कारण ओली एक्लै बहुमत ल्याउन सकिन्छ भन्ने ठाउँमा पुग्नुभएको हो । तर, त्यसरी ओलीलाई हौस्याउनेहरु भूगोलमा भिजेका नेताहरु भने होइनन् । “

वाम गठबन्धनले पाएको झण्डै दुईतिहाइ जनमतको रक्षा गर्न नसक्दा सबैतिर प्रतिपक्षी भूमिकामा पुगेको एमाले आगामी निर्वाचनबाट फेरि सत्तामा फर्किने धुनमा छ । तर,वस्तुगत अवस्था भने एमालेका लागि अनुकूल नभएको सत्ता गठबन्धन दलका नेताहरु बताउँछन् । बरु प्रतिनिधिसभा विघटनको दोष, पार्टी विभाजन र प्रधानमन्त्रीका रुपमा ओलीको अलोकप्रियताले एमालेका लागि आगामी निर्वाचन थप कठिन हुने संकेत देखिएका छन् ।

त्यतिमात्र होइन,अहिलेको मिश्रित निर्वाचन प्रणालीमा कुनै एउटा दलले बहुमत ल्याउने सम्भावना यसै पनि कम छ । दुई प्रमुख पार्टी मिलेर चुनाव लड्दासमेत गत निर्वाचनमा धेरै ठाउँ काँग्रेस झिनो मतले पराजित भएको थियो । अहिले न वाम गठबन्धन बाँकी छ न सिंगो एमाले । अझ अहिलेको पाँचदलीय गठबन्धन मिलेर चुनावमा गएको अवस्थामा त एमालेका लागि चुनाव जित्नु फलामको च्युरा चपाउनु सरह हुने निश्चित छ । तथापि एक्लै बहुमत ल्याउने ओली र उहाँनिकट कतिपय नेताहरुको जबर्जस्त दाबी छ ।

अहिलेको अवस्थामा पार्टीले बहुमत ल्याउने कुरामा एमालेकै धेरै नेताहरु विश्वस्त छैनन् । एक नेताका अनुसार स्वयम् ओलीलाई समेत बहुमत आउँदैन भन्ने थाहा छ । ‘चुनावसम्म अहिलेको सत्ता गठबन्धन कायम भयो भने एमाले विपक्षी दल नै हो । भएन भने पनि ठूलो पार्टीसम्म हुन सकिन्छ कि भन्ने छ’, उनी भन्छन् ।

त्यसो भए अध्यक्ष ओली किन त्यसरी हौसिनुभएको होला त ? ओलीलाई खुशी बनाउन केही नेताहरुले गलत रिपोर्टिङ सुनाउने गरेको उनको आरोप छ । जसका कारण ओली एक्लै बहुमत ल्याउन सकिन्छ भन्ने ठाउँमा पुग्नुभएको हो । तर, त्यसरी ओलीलाई हौस्याउनेहरु भूगोलमा भिजेका नेताहरु भने होइनन् ।

ओलीलाई ढुक्क बनाउने एक नेता हुन् राजन भट्टराई । ओली प्रधानमन्त्री हुँदा उहाँको विदेश मामिला सल्लाहकार रहेका भट्टराई आफैं भने काठमाण्डौको कपन क्षेत्रबाट गत निर्वाचनमा गगन थापासङ्ग पराजित भएका थिए । देशभर वाम गठबन्धनका पक्षमा उभार आएका बेलासमेत चुनाव जित्न नसकेका भट्टराई अहिले एक्लै बहुमत ल्याउन सकिन्छ भन्दै ओलीलाई कन्भिन्स गर्नेमध्येका एक हुन् ।

ओलीलाई फुर्क्याउने अर्का नेता हुन् उहाँ प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार रहेका विष्णु रिमाल । रिमाल अहिलेसम्म चुनावी राजनीतिमा प्रतिष्पर्धा गरेर खारिएका नेता होइनन् । सायद उनलाई पार्टी राजनीतिमा समेत चुनाव लडेको अनुभव छैन भनिन्छ । रिमाललाई पार्टीभित्रैका आलोचकहरुले बेलाबेला नुवाकोट फर्किएर कुनै पनि तहको निर्वाचन जितेर देखाउन चुनौती दिने गरेको समेत आरोप छ । हुन पनि भूगोलमा कुनै मेहनत नगरी नेतालाई कम्प्युटरको झल्याकझुलुक देखाएर रिझाएकै भरमा उपल्लो पार्टीमा जिम्मेवारी पाउने भाग्यमानी नेतामध्येमा पर्छन् नुवाकोटे रिमाल ।

आफ्ना अभिव्यक्ति र व्यवहारका कारण सधैं विवाद र आलोचनामा पर्ने गरेका सूर्य थापा पनि ओलीलाई बहुमतको सपना देखाउने अर्का नेता हुन् । उनी समेत भूगोलमा मेहनत गरेर स्थापित भएका नेता होइनन् । ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार थिए । झलनाथ खनालको प्रधानमन्त्रीत्वकालमा पनि त्यहि जिम्मेवारीमा रहे । त्यसैले थापालाई निजी स्वार्थका लागि गुट परिवर्तन गर्न माहिरको आरोप लाग्दै आएको छ ।

स्रोतले सूर्य थापासँग समेत चुनाव लडेर जितेको अनुभव सायदै होला भनेको छ । तर, उनै थापा अध्यक्षलाई खुशी बनाउन एमालेले एक्लै बहुमत ल्याउने दाबी गर्दै हिँडेका छन् । ‘जति कुर्लिए पनि सूर्य थापा प्युठानमा गएर चुनाव जित्ने हैसियत राख्दैनन् । तर उनी आफैँ एमालेको बहुमत ढुक्क भन्दै हिँडेका छन्,’ एक एमाले नेताको भनाइ छ ।

टिप्पणीहरू