रामदेव क्रान्तिकारी भए १७ हजार के ?

रामदेव क्रान्तिकारी भए १७ हजार के ?

–कौशल चेम्जोङ

नेपाली सञ्चार क्षेत्रमा हुने वैदेशिक लगानी स्वीकार गर्ने वा नगर्ने नीति पनि प्रष्ट छैन । नेपाल सरकारले आमसञ्चार नीतिलाई महत्व दिएर कार्यान्वयन गरेको पनि देखिँदैन । यस्तो बेला योगगुरु रामदेवले नेपालमा ‘पतञ्जलि नेपाल र आस्था नेपाल’ टेलिभिजन खोलेका छन् । ‘योगा गरौं, निरोगी रहौं’ भन्ने रामदेवका धेरै चेलाचपेटाहरु ब्लड प्रेसर र सुगर अनि क्यान्सरका कारण अकालमै मृत्युवरण गरेको मैले आँखै अगाडी टुलुटुलु देखेको छु ।

मैले पनि रामदेवको योगा र बालकृष्णको ओखतीको भरपर्दा ‘काल’ सँग जम्काभेट गरेको छु । अझ भर परेको भए कालले मलाई आजभन्दा १० वर्षअघि नै अखडामा चित्ताङ ख्वाएको हुन्थ्यो । त्यसैले रामदेवको योगाले रोग निको पार्ने होइन, बल्झाउने गर्छ भन्दा केही मान्छेलाई चित्त नबुझ्ला । किनभने रामदेवलाई भजाएर यिनले पेट पूजा गरिरहेका छन् । र, यस्ता मान्छेहरुले रामदेवलाई ‘ब्रान्ड’ बनाएका छन् । त्यसैले रामदेव हिजोआज ‘योगी’ कम ‘योगा माफिया’ बढी हुन पुगेका छन् ।

‘योगाले निरोग हुने’ दाबी ठोक्ने रामदेवले औषधि बेचेको देख्दा पनि पत्यार गर्ने हुस्सुहरु भेटिन्जेलसम्म रामदेवले धर्म अनि योगाको आडमा गरिने ‘धार्मिक माफियागिरी’ को दबदबा हुने नै भयो । अहिले संसारमै टेलिभिजनलाई सञ्चारको सशक्त माध्यमको रुपमा चिनिन्छ । यसैको उपयोग गर्दै रामदेवले ‘योग साम्राज्य’ खडा गरेका छन् । शुरुमा भारतमा फैलिएको ‘योगा’ ले भारतमा काँग्रेस आईलाई सफाया गर्न सहयोग गर्यो । र, धर्मनिरपेक्ष भारतलाई हिन्दूहरुको मात्रै साम्राज्य खडा गर्न आधारभूमि तयार गरिरहेको छ । र, यसले भारतमा बेलाबेलामा कचिंगल खडा हुँदै आएको छ ।

यसमा रामदेव जस्ता भामदेवहरुको निकै ठूलो हात छ । भारतीय जनताहरुबीच फाटो ल्याउन जोगी नामका भोगीहरुको निकै ठूलो हात देखिन्छ । र, यो आगो थाहै नपाइकन नेपालमा पनि बिस्तारै सल्किँदो छ । भारतीय सिरियलहरुका कारण साँस्कृतिक तथा भाषिक आक्रमण वा अतिक्रमण भएको भनेर बेला बेलामा कराउनेहरुले रामदेवको टेलिभिजनले केही नाप्दैन भनेर चुप लागेर बसेका हुन् या कपालभाँतीले लाभ लिइरहेका छन् अथवा अष्टावक्र शरीरलाई योगमय बनाइरहेका छन् ? थाहा हुन समय पर्खन पर्ने भएको छ ।

र, यतिखेर रामदेवलाई टेलिभिजन खोल्ने अनुमति दिनेहरु मख्ख परेका होलान् । तिनले के भुलेका छन् भने गाई मारेर गधा पोस्ने काम कहिल्यै पनि निको हुँदैन । भाषा र संस्कृतिमाथि ठाडो आक्रमण गर्नको लागि टेलिभिजन सशक्त हुनेछ । यति कुरा पनि नबुझ्ने नेताका कार्यकर्ता हुनुपर्दा दुःख मनाउ मात्रै गर्दा राम्रो हुँदैन । त्यसैले लेख्न बसिएकै छ ।

अर्को अचम्म त के भने प्रधानमन्त्री शेरबहादुर देउवाले रामदेवको टेलिभिजनको उद्घाटन गरेको भनिए पनि ‘छायाँ उद्घाटन’ झैं गरेका छन् । प्रमुख अतिथिको चर्चा हुनुपर्नेमा ‘रामदेव महाराज’ ले चर्चा बटुलेपछि यो स्वाभाविक पनि हो । त्यसैले प्रधानमन्त्री देउवाले मर्यादा राख्न सकेको भन्न सक्ने अवस्था भएन ।

अनि सशस्त्र विद्रोह गर्ने, भौतिक तथा द्वन्द्ववादी नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधिलगायतको उपस्थितिले ‘टेलिभिजन उद्घाटन समारोह’ को शोभा बढाए पनि यिनको कद भने निकै घटाएको छ ।

किनभने धर्मले राजनीति डोर्याउने होइन, राजनीतिले धर्मलाई डोर्याउँदा ‘धार्मिक कलह र क्लेश’ बाट देश र जनतालाई जोगाउन सकिन्थ्यो । तर नेताहरु बरालिएका छन् । त्यसैले रामदेवलाई ‘भावदेव’ बनाएर देशै नभएको, सिंहासन नै नभएको ‘महाराज’ बनाइरहेका छन् । अरु त अरु फूलबुट्टा भर्दै रामदेवलाई बेलुनझैं फुलाउन ‘क्रान्तिकारी’ भनेपछि मलाई भने वामपन्थी हुँ भन्न पनि लाज लागेको छ । क्रान्तिकारीको कुरा त कता हो कता ? त्यसो भए १७ हजार के हुन् ? सोध्न मन लागेको छ ।

हो, योगा राम्रो हो । आयुर्वेदिक औषधि झनै राम्रो हो । तर राम्रो, मिठो, गुलियो भन्दैमा चिनी धेरै खायो भने के हुन्छ ? सबैलाई थाहा भएकै कुरा ‘तीतो’ हुन्छ । सय वटा गाई पालेर एक अर्ब ३१ लाख भारतीयलाई पतञ्जलिको घीऊ पुर्याउने ल्याकत र खुबी भएका रामदेवको बारेमा खर्चिएका हाम्रा नेताको कुरा सुन्दा मलाई बेपत्ता हुन मन लाग्यो ।

सोध्न मन लाग्यो, – ‘नेपाललाई भाषिक तथा साँस्कृतिकरुपमा भारतीय औपनिवेशिक क्षेत्रको रुपमा रुपान्तरण गर्ने अभियानमा हाम्रा नेताहरु पनि हाँ मा हाँ गर्दैछन् ?’ भारतीय जनता पार्टी र शिव सेनाको अभियानमा हातेमालो गर्दैछन् ? होइन भने नेपालीको नभएर रामदेवको टेलिभिजन किन भयो ? चेतना भए एक बेला अंग्रेजी हिमालय टाइम्समा प्रकाशित गौतम बुद्धसम्बन्धी समाचारले मथिङ्गल चाटेको थियो । अब त रामदेवहरु पनि थपिएछन् ।

टिप्पणीहरू