​सिंहदरबारका यी सास्ती

सिंहदरबारभित्रका २१ मन्त्रालयमा सात हजार हाराहारी कर्मचारी छन् । तीमध्ये अधिकांश विरामी । कोहीलाई ग्यास्ट्रिकले चापेको, कोहीलाई ब्लड प्रेसरले समातेको । पुनर्निर्माण प्राधिकरणको दुई वटा कोठा । वीर अस्पतालबाट पालैपालो खटिने ६ जना डाक्टर । त्यहीं छ हेल्थ डेस्क ।

कर्मचारी स्वास्थ्योपचारका नाममा कार्यालय छाडेर घण्टौं हराउने प्रवृत्ति बढ्दै गएपछि प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा चार महिनाअघि खडा गरिएको हो यो डेस्क । यो अवधिमा उपचारका लागि झण्डै ११ सय कर्मचारी पुगेका छन् । तीमध्ये ७० प्रतिशत ग्यास्ट्रिक र उच्च रक्तचापबाट पीडित । उपचारमा संलग्न डाक्टरका अनुसार स्वास्थ्य मन्त्रालयकी सचिव पुष्पा चौधरी, स्वास्थ्यकै डा. श्रीकृष्ण गैरेमा ब्लड प्रेसरको समस्या देखिएको छ ।

प्रधानमन्त्री कार्यालयमा कार्यरत अधिकांश कर्मचारीचाहिँ ग्यास्ट्रिकका बिरामी । मेघराज जैसी, कृष्ण भुजेल, रिता नेपाली, कृष्णबहादुर तिवारी, राम थापा मगर, हरिबहादुर भण्डारी, हरि विष्ट, टीका सूर्य अवस्थी, ध्रुव पोखरेल ग्यास्ट्रिकको औषधि सेवन गरिरहेका छन् । यमलाल भुसाल, भगवती पौडेलको अवस्था पनि उही हो । त्यहाँका कर्मचारी शारदा भण्डारी र बालकृष्ण दैला ग्यास्ट्रिकसहित प्रेसरका बिरामी हुन् । विजय लामा उच्च रक्तचापको दबाई सेवन गर्दै छन् । यस्तै, युवा तथा खेलकुद मन्त्रालयका रत्नबहादुर कटवाल, वन मन्त्रालयका रूपबहादुर स्याम्बो, सविता रोक्का ग्यास्ट्रिकबाट पीडित । वसन्त ढुंगाना, सन्ध्या भट्टराई, आशिष श्रेष्ठ, मधुकला राई, एलपी शर्मा, दीपेन्द्र पौडेल पुनर्निर्माण प्राधिकरणका कर्मचारी । उनीहरू पनि ग्यास्ट्रिकको शिकार । रेडियो नेपालका विनोद अधिकारी, गीता भारती, राधिका ओझा, एनटिभीका टीका दाहाल पनि ग्यास्ट्रिकग्रस्त ।

टंक खनाल, दिवाकर शर्मा, उद्धव सिंहको समस्या पनि उही । परराष्ट्र मन्त्रालयका दधिराम भण्डारी ग्यास्ट्रिकसहित ब्लड प्रेसरका भुक्तमान । अर्थ मन्त्रालयका गोपाल श्रेष्ठ, गीता अधिकारी ग्यास्ट्रिक र प्रेसरको समस्यामा । निर्मला कार्की, यशोदा लामाको हालत पनि उस्तै । गृह मन्त्रालयकी रुपा डोटेल ग्यास्ट्रिककी बिरामी । कर्मचारीमा कामको चाप र तनावले गर्दा ग्यास्ट्रिक र प्रेसरको समस्या देखिएको हेल्थ डेस्कमा कार्यरत चिकित्सकको भनाइ छ ।

टिप्पणीहरू