मुस्ताङ हिमपहिरोको पछिल्लो अपडेट, सात दशक यताकै ठूलो हो : मिर मुखिया भट्टचन

मुस्ताङ हिमपहिरोको पछिल्लो अपडेट, सात दशक यताकै ठूलो हो : मिर मुखिया भट्टचन

-अमृत बास्कुने

आइतबार बिहान ९ बजेदेखि सामान्य रुपमा आवाजसहित आउन थालेको हिम पहिरोले पौने १२ बजे निकै भयङ्कर रुप लिएको थियो । सामान्यतयाः टुकुचे पिक भनिने भए पनि थासाङ गाउँपालिका–२ भन्दामाथि रहेको मानापाथी हिमालको फेदबाट पहिरो झरेको थियो । कोबाङ, लार्जुङ, नाउरीकोट, बोक्सीखोला क्षेत्रभन्दा माथि पर्ने उक्त क्षेत्रमा पहिरो जाँदा त्यस क्षेत्रका स्थानीयबीच भागाभाग मच्चिएको थियो । पहिरो निकै ठूलो आवाजसहित झर्दा स्थानीयमा निकै त्रास फैलिएको थियो ।

थासाङ गाउँपालिका–२ कोवाङका मिर मुखिया ज्वार भट्टचनलाई सोमबार बिहान साढे ११ बजे सम्पर्क गर्दा उहाँले हिमाल हेरेर बसिरहेको प्रतिक्रिया दिनुभयो । ‘आइतबार दिउँसो १२ बजेतिर मानापाथीको फेद बुलखर्कबाट पहिरो झरेको हो,’ भट्टचन भन्नुहुन्छ । उहाँका अनुसार हिमपहिरोका कारण कोबाङ क्षेत्रमा प्रयोग हुने खानोपानीको पाइप तथा ट्याङ्कीमा क्षति पुगेको कारण मिनरल वाटरको प्रयोग गर्नु पर्ने अवस्थामा पुगिएको छ ।

भट्टचन भन्नुहुन्छ, ‘अहिले ८२ वर्षको भएँ, यसभन्दा पहिला २०११ सालमा पनि यस्तै ठूलो पहिरो गएको थियो । त्यो बेला तीन गोठ चौंरी र तीन जना मान्छे मरेका थिए ।’ हिमालमा पहिरो त हरेक वर्ष आउँछ तर यस वर्ष जस्तो डरलाग्दो पहिरो २०११ पछि मेरो याद छैन ।’ युवाहरु पहिरो गएको क्षेत्रमा पुगेकाले क्षतिको यकिन गरेर फर्कने भट्टचनले जानकारी दिनुभएको हो । उहाँका अनुसार गाउँको अवस्था सामान्य रहे पनि पुनः पहिरो झर्न सक्ने त्रास भने सबैमा देखिन्छ ।मुखियाप्रथा कायमै रहेको मुस्ताङमा मिर मुखिया निकै शक्तिशाली पद हो । मुस्ताङको तल्लो भेगको टुकुचेदेखि तल घाँसासम्मका १३ जना मुखियाका कमाण्डर उनै मिर मुखिया ज्वार भट्टचन हुनुहुन्छ । हिमपहिरो खसेको जानकारी पाएलगत्तै प्रतिनिधिसभा सांसद प्रेमप्रसाद तुलाचन, गण्डकी प्रदेशसभा सदस्य महेन्द्र थकाली, चन्द्रमोहन गौचन, सुरक्षा समिति मुस्ताङका सदस्यहरु घटनास्थल पुगेर आवश्यक समन्वय गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभएको छ ।

‘अहिलेसम्म मानवीय क्षति भएको छैन, केही घरका सामान्य छाना उडाएको छ, जोखिम खासै छैन । तर ढुक्क हुन सक्ने अवस्था पनि होइन,’ प्रजिअ शर्माले भन्नुभयो । अवस्था करिब सामान्य भइसकेको छ सुरक्षा निकाय, स्थानीय युवा तथा सरोकारवालाहरुलाई पनि सचेत एवम् चनाखो पारिएको उहाँले बताउनुभयो ।

मुस्ताङ बाहिरी समाजका लागि निकै आकर्षक क्षेत्र भए पनि त्यस क्षेत्रको पिडा भने निकै रहेको कबड्डी–४ चलचित्रका निर्माता मणिराम पोखरेलको अनुभव छ । पोखरेलको निर्माणमा छायांकन भइरहेको कबड्डी–४ को छायांकनस्थल नाउरीकोट थियो । आइतबार पनि दयाहाङ राई, सौगात मल्ल, वुद्धि, विजय तथा निरुना मगरलगायतका कलाकारको दृष्य छायांकनको कार्यतालिका थियो ।बिहानैदेखि सामान्य पहिरो झर्दा वास्ता नगरेर काम गरेको भए पनि ठूलो पहिरो झर्न थालेपछि भने सबैको भागाभाग भएको निर्माता पोखरेलको बताउँछन् । पोखरेलका अनुसार, ‘दृष्यहरु खिचिएको छ तर त्यसको प्रयोग कतै गर्न नपरोस, बाहिरकालाई भिडियो तथा फोटो हेर्दा निकै मनमोहक लाग्ला तर त्यही दृष्यभित्र स्थानीयको त्यो प्रकारको पिडा हामीले महशुस गरेका छौं ।’

गत कात्तिक ५ गतेदेखि ७५ जनाको टोलीसहित मुस्ताङ आएर कबड्डी–४ को छायांकन शुरु भएकोमा अबको १० दिनमा सकिने र चलचित्रका सबै दृश्य मुस्ताङभित्रै सकिने निर्माता पोखरेलको भनाइ छ । ‘यसभन्दा पहिले वि.सं. २०३१ तिर पनि ठूलो पहिरो गएको थियो तर यस्तो ठूलो थिएन,’ थासङ गाउँपालिका–२ का वडा अध्यक्ष नरप्रसाद हिराचन सुनाउनुहुन्छ । ६० वर्षिय अध्यक्ष हिराचनका अनुसार जनता डराइ रहेका छन्, ढुक्क हुने अवस्था छैन । तर अहिले तलबाट हेर्दा सामान्य देखिए पनि जोखिम सकिएको छैन ।’

थासाङ गाउँपालिका क्षेत्रको चरन क्षेत्र मानिने त्यस क्षेत्रको वरपर २३ वटा चौंरी गोठ रहेकोमा हिमपहिरो गएकै क्षेत्रमा दुई जनाको १ सय ५० जति चौंरी रहेकोमा अहिलेसम्म १४ चौंरी मरेको पुष्टि भएको छ । अरुको विवरण आउन अझै बाँकी रहेको बताइन्छ ।

‘मेरो घर कास्की हो, यहाँ बस्न थालेको २२ वर्ष भयो तर अहिलेसम्म यस्तो खालको पहिरो अनि यो प्रकारको त्रास मैले कहिल्यै अनुभव गरिँन,’ जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर गुरुङ भन्नुहुन्छ । उहाँका अनुसार पढाइ चलिरहेको बेलामा पहिरो आएको जानकारी फोनबाट प्राप्त भयो । सुरक्षित हुनका लागि सामान्य तबरले निस्कन खोजे पनि ठूलो आवाजसहितको पहिरोको त्रासले भाग्ने क्रममा सात जना विद्यार्थी, तीन शिक्षिका र एक जना शिक्षक घाइते भएका छन् ।

कक्षा १० कि छात्रा अनुस्का खत्री, शिक्षक वीरेन्द्र लामिछाने र शिक्षिका अनु देशारलाई मुस्ताङ जिल्ला अस्पताल जोमसोममा उपचारपछि थप उपचारका लागि सोमबार उडानबाट पोखरा पठाइएको गुरुङले बताउनुभयो । आइतबार हिमपहिरो जाँदाको भागदौडमा घाइते भएका उहाँहरुको थप उपचारको निम्ति पोखरा पठाउन परेको हो । अरु सामान्य घाइते उपचारपछि घर फर्केका छन् ।

हिमपहिरो एकातिर खसेको र त्यसको प्रभाव अर्थात् बेजोडसँगको गतिले अर्कोतर्फ करिब दुई सय वटा रुखहरु ढालेर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । प्रहरी निरीक्षक पौडेलका अनुसार आइतबार तीन पटकसम्म हिमपहिरो खसेको थियो । बिहान साढे ९ र साढे १० बजेतिर सानो खसेको भए पनि दिउँसो ११ बजेर ४० मिनेट जाँदा ठूलो हिमपहिरो खसेको हो ।

टिप्पणीहरू