सिनेमा संसार कतै भत्काइँदै, कतै ठड्याइँदै

सिनेमा संसार कतै भत्काइँदै, कतै ठड्याइँदै

कोराना महामारीका कारण झण्डै २० महिना चलचित्र मन्दिर बन्द भए । कुनै समय मान्छे खचाखच हुने हलमा मुसाको राज चल्यो । सिनेकर्मी बेरोजगार भए, निर्माताहरूको करोडौं डुब्यो । त्यही कारण केही सिनेमा घर भत्किए ।

जसमध्येको एक हो बौद्धमा अवस्थित सिद्धार्थ सिनेमा मन्दिर । दुई रोपनी जग्गा भाडामा लिएर २९ वर्षअघि गोपालकाजी कायस्थले सञ्चालनमा ल्याएको सिनेमा मन्दिर अहिले भत्किसकेको छ । कोटेश्वरस्थित पुष्पाञ्जली हलसमेत भत्कियो । हलवालाहरूको छाता संगठन नेपाल चलचित्र संघका अनुसार कोभिडपछि देशभरका २८ वटा चलचित्र घर भत्काइएका छन् ।

काठमाडौंभित्रका पुराना सिने मन्दिर जय नेपाल, कुमारी सधैंका लागि बन्द भए । जय नेपाल नेपालकै जेठो सिनेमा घर हो । अब त्यसको इतिहास पनि भत्किएको छ । कोही गोदाम घरमा परिणत भएका छन् । कुनै समय सात वटा हल भएको गोपीकृष्णका सातमध्ये चार वटा घर भत्काइएको छ ।

उपत्यकाका ९ वटा र उपत्यकाबाहिरका १९ वटा गरी २८ वटा सिने मन्दिर भत्काइएको संघले जनाएको छ । पुराना सिनेमा घरहरू भत्काइने क्रम चलिरहँदा कीर्तिपुरमा नयाँ फिल्म हल सञ्चालनमा ल्याएका छन् फिल्मकर्मी नरेन्द्र महर्जनले, २० करोड लगानी गरेर । पाँगामा एक सोमा २८५ दर्शकले हेर्न मिल्ने गरी ‘कीर्तिपुर सिनेप्लेक्स’ सञ्चालन हुनेछ ।

यता, बानेश्वर शंखमूलमा चलचित्रकर्मी दीपकराज गिरी र दीपाश्री निरौलाले नौ करोड लगानीमा नयाँ सिनेमा हल खोल्दै छन् । वैशाखभित्रैबाट हल सञ्चालनमा ल्याउने गरी काम भइरहेको दीपकराजको कथन छ ।

टिप्पणीहरू