​बागी छन् बुरुक्क

‘आ–आफ्नो कान खोलेर सुन्नुस् कमरेड हो, यस्तो तालले राम्रो भएछ भने मेरा दुई कान कटक्कै काटी फाल्दिउँला । राम्रो हुन्न । हुँदै–हुन्नँ, हेर्दै जानुस् !’

गत प्रतिनिधिसभा निर्वाचनमा हुम्लाबाट वाम गठबन्धनविरुद्ध बागी उम्मेदवार भई चुनाव जितेका छक्कबहादुर लामा एक साताअघि सिंहदरबारमा यसो भन्दै चर्किरहेका थिए । कर्णाली प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपाका सांसद र नेताहरू एउटा कुनामा झुरुप्प भेला भई बजेटबारे समीक्षा गरिरहेका थिए । ‘हेर्नुस्, म त तपाईंहरूजस्तो पार्टी चुनाव चिह्नमा जितेर आ’ पनि हैन । जनताको मान्छे । यो बजेटका पाँचवटा राम्रा कुरा देखाउनोस् । यो अहिलेको बजेटले जे–जे व्यवस्था गरेको छ, यही कुरा बोकेर जिल्ला जानुभयो भने जनताले चप्पल तेस्र्याएर लखेट्छन् । अर्को चुनाव जित्ने त कल्पनै नगर्नुस् । स्वतन्त्रै भए पनि कम्युनिष्ट पार्टीको नेता म पनि हुँ क्यारे १ मलाई पनि हराउन बेर छैन ।’

अर्का सांसदले भने, ‘यो सरकारले यस्तो बजेट त पाँचचोटि ल्याउँछ । यो पहिलोचोटिको बजेट भयो । यसैमा किन निराश हुने रु’ फेरि छक्कबहादुर पड्किए । ‘ल त ल, जिल्ला गएर देखाऊ त कमरेड ! सक्छौ रु सिंहदरबारमा ठूलो कुरा गरेर हुन्न । जनताले भोलि के आउँछ, त्यो हेर्दैन । अहिले के पायो, त्यो हेर्छ !’

सिंहदरबारमा छक्कबहादुर पड्किएपछि बबरमहलस्थित पूर्वमाओवादी कर्मचारी संगठनको भवनमा त्यही प्रदेशबाट नेकपाको केन्द्रीय कमिटीमा रहेका नेता भेला भए । त्यहाँचाहिँ छक्कबहादुर थिएनन् । प्रदेशमा पार्टी एकता संयोजन गर्न बनेको युवराज ज्ञवाली, जनार्दन शर्मा, मायाप्रसाद शर्मा र यामलाल कँडेलको संयोजन समितिसहितको उक्त भेलामा छक्कबहादुरजस्ता पार्टीकै तर संसद्मा स्वतन्त्र बनेका मान्छेलाई पनि समेटेर पार्टी एकीकरण गर्ने कुरा उठ्यो । अहिले कर्णाली प्रदेशको पनि तत्कालीन कर्णाली अञ्चलका अधिकांश नेकपा सांसदहरू छक्कबहादुरकै लाइनमा छन् । अर्थात्, तत्कालीन कर्णाली अञ्चलका विभिन्न जिल्लामा विनियोजन गरिएका योजना पञ्चायतकालको भन्दा कञ्जुसपाराको छ । डोल्पाका सांसद तथा पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले आफ्नो जिल्लामा मात्रै अनगिन्ती योजना हाल्दा कर्णालीका अन्य जिल्लालाई बेवास्ता गरिएको उनीहरूको आरोप छ ।

टिप्पणीहरू