प्रधानन्यायाधीशको १० वटा गल्ती देखाउन वकिलको चुनौती, देखिए आफूले आत्महत्या गर्ने उद्घोष

प्रधानन्यायाधीशको १० वटा गल्ती देखाउन वकिलको चुनौती, देखिए आफूले आत्महत्या गर्ने उद्घोष

सर्वोच्च अदालतको पछिल्लो अवस्थाको बिरोध गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन भएको छ । स्वतन्त्र नागरिकहरुको आयोजनामा भएको कार्यक्रममा नेपाल बार एसोसिएसनले गरेको आन्दोलन र सर्वोेच्च अदालतमा भएको बेञ्च बहिष्कारको विरोध गरिएको हो ।

अदालतभित्र भएको बेथितिविरुद्ध स्वतन्त्र नागरिकहरुले दबावको शासन अन्त्य गर, विधिको शासन कायम गरलगायतका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले ‘मेरो पेशी कहिले आउँछ श्रीमान् ?, बेञ्च बहिष्कार अन्त्य गर, दबावको शासन अन्त्य गर, विधिको शासन कायम गर, बार बेञ्च सेटिङ खारेज गर, न्याय खोज्न गोर्खा नै जानु पर्ने हो ?, हाम्रो अदालत कहिले खुल्छ ? लेखिएका प्लेकार्ड बोकेका थिए ।

कार्यक्रममा बोल्दै उन्नत लोकतान्त्रिक पार्टी नेपालका संयोजक स्वागत नेपालले अदालत गुण्डागर्दी गर्ने ठाउँ नभएको बताउँदै बेञ्च बहिष्कार गर्ने न्यायाधीश कानुन व्यवसायीहरुविरुद्ध संयुक्त राष्ट्र संघको कार्यालयमा उजुरी गरिएको जानकारी दिएका छन् । उनले न्याय महँगो भएको भन्दै अदालतभित्र राजनीति घुसाउन खोजिएको आरोप लगाए ।

अधिवक्ता त्रिलोक विक्रम चन्दले नेपाल बारले केही दलका नेतासँग मिलेर प्रधानन्यायाधीशको राजिनामा माग्न मिल्छ कि मिल्दैन भन्दै प्रतिप्रश्न समेत गरेका छन् । उनले प्रधानन्यायाधीशले गरेका १० वटा गल्ती देखाएमा आफूले आत्महत्या गर्ने चुनौती दिएका छन् ।

त्यस्तै, स्वतन्त्र राष्ट्रिय अभियानका सदस्य नवीन मैनालीले न्यायालयभित्र आन्दोलन गर्नेहरुलाई प्रहरीले खोरमा थुन्नुपर्ने बताएका छन् । स्वतन्त्र नागरिकहरुको प्रदर्शन भोलि पनि जारी रहने बताइएको छ ।

नेपाल बारका सदस्य तथा अधिवक्ता भूमिनन्द चुडाल, अधिवक्ता आकृति रायमाझी, अभियन्ता सावित्री सुवेदीलगायतको उपस्थितिमा बिरोध कार्यक्रम भएको हो ।

टिप्पणीहरू