मोदी कसरी जालान् मुक्तिनाथ ?

मोदी जम्मा ३६ घण्टा नेपाल बस्दै छन् । त्यसबीच उनले के–के गर्लान्, सबैको निम्ति चासोको विषय छ । पोखरा नजाने टुंगो लाग्यो । टुँडिखेलमा सलामी लिन आउँदा त्यहीं आफ्नो हेलिकप्टर झार्ने तयारी थियो तर धुलो उड्ने आशंकाले त्यो योजना रद्द भएको छ । तर, जोमसोम भने आफ्नै हेलिकप्टरमा जाने तयारी छ ।

मुक्तिनाथ दर्शनका लागि त्यता जान पोखरा रुट प्रयोग गर्ने योजना हो । काठमाडौंबाट सिधै जान हेलिकप्टरमा सवा घण्टा लाग्छ जबकि पोखराबाट सानो जहाजमा उड्दा मात्र १७ मिनेटको उडानमा मुक्तिनाथ पुगिन्छ । समस्या के भने पोखरामा त्यति उच्चस्तरका भिआईपीलाई राख्ने राम्रो होटल नै छैन । कहाँ बसेर त्यहाँबाट हेलिकप्टर चढ्ने ? यदि पोखरामा भए जोमसोमको मौसम खुल्यो भन्नासाथ हुरुरु एयरपोर्टतिर कुद्न सकिन्थ्यो । त्यहाँ हुरी चल्न थाल्नुअगावै अर्थात् १२ नबज्दै जानुपर्ने हुन्छ ।

एक त मुस्ताङमा मौसमको भर छैन, अर्कोतिर पोखरामा राम्रो होटल छैन । त्यसैले उनको मुक्तिनाथ यात्रा चुनौतीपूर्ण बनेको छ । भ्रमणका लागि भारतबाट दुईवटा बुलेटप्रुफ गाडी र तीनवटा हेलिकप्टर आउँदै छन् ।

अमिताभ बच्चन र श्रीदेवीले खुदागवाह सिनेमा सुटिङ गरेको स्थल पनि मोदीले देख्ने भएका छन् । योजनामुताविक मोदी काठमाडौंबाट सोझै मुक्तिनाथ जाने, दर्शन सकेर जोमसोम आउने र तेल भरेर ठिक्क हालतमा राखिएको अर्को हेलिकप्टर चढी काठमाडौं आउने तालिका छ ।

टिप्पणीहरू