आज काग र कुकुर तिहार एकै दिन

आज काग र कुकुर तिहार एकै दिन

यो वर्ष काग र कुकुर तिहार एकैदिन परेको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्धितियासम्म मनाइने तिहार पर्व एकै दिन काग र कुकुर तिहारबाट मनाईंदै छ ।

कात्तिक कृष्ण त्रयोदशीको दिन काग तिहार पर्छ । काग तिहारमा कागलाई यमराजको दूतका रूपमा पूजा गरिन्छ, जसलाई मृत्युको देवता पनि भनिन्छ । तिथिअनुसार काग तिहार आज परेको हो । आज कागलाई बोलाई बोलाई मिठा मिठा खानेकुरा खुवाइन्छ । कागलाई सन्देशवाहकको रुपमा लिने गरिन्छ ।

आजै चतुर्दशी तिथी समेत परेकाले कुकुर तिहार पनि मनाईंदैछ । आजको दिन कुकुरलाई सम्मानपूर्वक पूजाआजा गरी मिठा खाना खुवाइन्छ । मृत्युका देवता यमराजलाई खुशी तुल्याउन कुकुरलाई उनको दूतको रुपमा पूजा गर्ने चलन रहँदै आएको हो ।

हिन्दुशास्त्र अनुसार नरक र मृत्युका स्वामी यमराजले मानवलगायत पृथ्वीका सबै प्राणीको जन्म र मृत्युको अभिलेख राख्छन् । काग र कुकुरले यस्ता विवरण पुर्याउने विश्वास गरिन्छ ।

यमराजले शीघ्र सन्देश ल्याउने भएकाले कागलाई आफ्नो दूत नियुक्त गरेको मान्यता रहँदै आएको छ । तर काग तिहारमा ती सबै नकारात्मक विश्वासलाई भुलेर कागको पूजा गरिन्छ । कागतिहारमा कागलाई आफ्नो घर आँगनमा बोलाएर घरमा बनाइएको खाना खुवाइन्छ ।

आज यमदीप दान गर्दा यमराजको यातनाबाट मुक्ति मिल्ने अर्को धार्मिक विश्वास पनि छ । यमदीप दान दक्षिण दिशामा फर्केर गर्ने धार्मिक विधि र विश्वास रहेको छ ।

टिप्पणीहरू