अकारण सरुवालगत्तै चिठी च्यातियो

अकारण सरुवालगत्तै चिठी च्यातियो

नेपाल प्रहरीको इतिहासमा पहिलो पटक राजधानी काठमाण्डौबाट भैरहवाका निम्ति एक्लो एसएसपीको एकाएक सरुवा गरिएको छ । सन्चालन शुरु भैनसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा प्रमुख बनाएर नेपाल प्रहरीका काठमाण्डौ जिल्ला (किलो 1) प्रमुख अशोक सिंहलाई पठाउन लागिएको हो ।

तर,कुनै तयारी नै नभएको स्थानमा एसएसपीको सरुवा भएको विषयलाई निको नमानिएपछि सरुवा जसरी गरिएको थियो, त्यसरी नै रोकिएको बताइन्छ । ‘अहिले सरुवाको पत्रको ठाउँमा थमौती पत्र बनाइ सकिएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो ।

सञ्चालन हुने मितिसमेत नतोकिएको र निर्माणाधीन अवस्थामा रहेको विमानस्थलमा गरिएको एसएसपी सिंहको सरुवालाई प्रहरीभित्रै आश्चर्यजनक मानिएको थियो । ‘कार्य सम्पादनमा कुनै आशंका गर्नुपर्ने अवस्था नभएको प्रहरी अधिकृतलाई अचम्मको ठाउँमा हुत्याइयो,’ एक जना डीआईजीले जनआस्थासँग भने ।

सिंहलाई भैरहवाको निर्माणाधीन विमानस्थल पुर्याएर उनको ठाउँमा सुदीप गिरीलाई ल्याइएको थियो । तर,उनले पदबहाली नगर्दै सिंहको सरुवा थमौती भएको छ । गिरी पूर्वप्रधानन्यायाधीश केदार गिरीका छोरा हुन् । गिरी प्रहरीको केन्द्रिय अनुसन्धान ब्युराे (सीआईबी) मा छन् ।

१० महिनाअघि सरुवा भएर भ्यालीमा आएका र डिआइजी बढुवाको लाइनमा रहेका सिंहको सरुवा हुने बेला नै नभएको प्रहरी अधिकारीहरु नै स्वीकार्छन् । एसएसपीको सरुवा गृह मन्त्रालयले गर्ने भएकाले प्रहरीका उच्च अधिकारीहरुले यसवारे मौनता साँधेका छन् । यसबीचमा गृहले अधिकांश जिल्लाका सिडियोहरुको पनि मनलाग्दी सरुवा गरिसकेको छ ।

टिप्पणीहरू