त्यसो भन्नेमाथि कडा टिप्पणी

पर्सि भारत भ्रमणमा जाँदै गरेका प्रधानमन्त्री केपी ओली कुनै बेला स्वास्थ्य उपचारका लागि दिल्लीमा रहँदा जहाँ बस्थे, जसको भर पर्थे, अहिले मन उनैसँग दुखेको रहेछ ।  बालुवाटारमा नेपाल उद्योग परिसंघका पदाधिकारीसँग भेटघाट थियो ।

साँझ ५ बजेको समय तय भएर पुगेका व्यापारीहरुले डेढ घण्टा पर्खिएपछि बल्ल भेट पाए । अर्थमन्त्री डा.युवराज खतिवडा र उद्योगमन्त्री मात्रिका यादवलाई दायाँ–बायाँ राखेर प्रधानमन्त्रीले कुरा थाले । साथमा पूर्वराजदूत शम्भुराम सिंखडा, नेपाली सेनासम्बद्ध व्यक्ति पनि थिए । सचिवालयका मानिसहरुले प्रधानमन्त्रीसँग आधा घण्टाभन्दा बढी समय छैन भनेका थिए । तर, एक घण्टाभन्दा लामो मन्तव्य प्रधानमन्त्री आफँैले दिए । विकास र समृद्धिमै केन्द्रित भएर प्रम बोलिरहँदा व्यापारीहरु उत्साहित देखिन्थे । तर, संबोधन अन्तिमतिर पुग्दा, ‘तपाईंहरुका प्याट्रन (संरक्षक) हुनुहुन्छ नि’ भन्दै कुरा निकाले । नेपाल उद्योग परिसंघका संरक्षक तथा संस्थापक अध्यक्ष विनोद चौधरी हुन्, जसलाई प्रधानमन्त्रीले लक्ष्यित गरेका थिए । ‘वाम सरकार आएपछि गणतन्त्र हुँदैन, आर्थिक विकास पनि हुँदैन भन्नुभएको होइन उहाँले ?’ ओलीले थपे, ‘अब गणतन्त्रलाई कसैले फ्याँक्न सक्छ ? राजाले त सकेनन्, उहाँले भनेर हुन्छ ? वाम सरकारले आर्थिक विकासका कामहरु के–के गर्छ हेर्दै जानुहोला । तपाईंहरु सुझाव दिनुस्, काम हामी गर्छौं । जे मन लाग्यो त्यही बोलेर हुन्छ ?’

यसो भन्दा परिसंघका अध्यक्ष हरिभक्त शर्मा, पूर्वअध्यक्ष नरेन्द्र बस्नेतहरु प्रतिक्रियाविहीन भए । विनोदचाहिँ उक्त भेटघाटमा थिएनन् । 
स्मरणीय के छ भने, ०६४ को संविधानसभामा चौधरी ओलीकै जोडबलमा एमालेबाट समानुपातिक सांसद बनाइएका थिए । ०७० मा नवलपरासीबाट प्रत्यक्षतर्फ टिकट दिने तयारी पनि भइरहेको तर अन्तिम अवस्थामा स्थानीय पार्टीको दबाबमा टिकट दिइएन । अहिलेको संसदमा उनी नेपाली कांग्रेसबाट समानुपातिक सांसद छन् ।

बिदामै व्यवस्था
अघिल्ला सरकारलाई भन्दा भारतले अहिलेको सरकारलाई बढी महŒव दिन्छ भनिए पनि व्यवहारचाहिँ त्यस्तो देखिएको छैन । कसरी भने, उसले फेरि पनि फुर्सदका दिन नेपालका पाहुनाको भ्रमण तय गरेको छ । 

यसअघिका प्रधानमन्त्रीहरुले पनि भ्रमण तालिका माग्दा भारतीय पक्षले शुक्रबार पारेर बोलाउने गरेको थियो । यसपालि पनि त्यस्तै हुँदैछ । शुक्रबार काठमाडौंबाट उड्ने प्रधानमन्त्रीको टोली बेलुकी नयाँ दिल्ली पुग्छ । पुगेको बेलुकी रात्रिभोजको आयोजना हुन्छ, जहाँ भारतीय समकक्षीसँग साइडलाइन छलफल पनि चल्छ । शनिबार र आइतबार त्यसै पनि सार्वजनिक बिदा । सोमबार बिहानै टोली स्वदेश फर्किन्छ । अर्थात्, महŒवपूर्ण भेटघाट त्यसलाई भनिन्छ, जसमा सन्धि, सम्झौता र द्विपक्षीय हितका विषयमा उच्चअधिकारीसहित छलफल हुन्छ । नेपालले भारतीय राष्ट्रपति आउँदा सार्वजनिक बिदा अर्थात् उच्च महŒव दियो ।

तर, भारतले बिदा त कल्पना पनि नगरौँ, अहिलेका प्रधानमन्त्रीलाई पहिलाका ६ महिने, एक–डेढ वर्षे प्रधानमन्त्रीलाई झैँ व्यवहार गरिरहेको आरोप छ । यताबाट जम्बो टोली दिल्ली उड्दैछ । कोहीसँग भेटै नहुने भएपछि जम्बो जानुको अर्थ के होला ? व्यापारीमात्र ५०–५५ जना लैजाने गरी परराष्ट्र मन्त्रालयले सूची तयार पारेको छ । नेपाल उद्योग बाणिज्य महासंघ, उद्योग परिसंघ र च्याम्बर अफ कमर्शका अलग–अलग टोलीमा थप एक–डेढ सय व्यापारी आफ्नै खर्च हालेर जाँदैछन् । तर, त्यसरी जानेहरुले भारतीय उच्चअधिकारीसँग भेट्ने, कुनै ठोस प्रस्ताव लैजाने, ठोस निर्णयका साथ फर्किनेजस्ता काम केही हुँदै छैनन् ।

टिप्पणीहरू