एमाले बैठकमा पनि लिन प्याओ प्रकट

एमाले बैठकमा पनि लिन प्याओ प्रकट

नेपाली राजनीतिमा रामबहादुर थापा बादल चर्चित नाम हो । तत्कालीन नेकपा (माओवादी)ले सन्चालन गरेको १० वर्षे जनयुध्दका बेला बादलको बढी चर्चा हुने गर्थ्यो । त्यतिबेला सैन्य रणनीतिकारका रुपमा चर्चा गरिए पनि खासमा उनी कुशल संगठक थिए । २०६४ सालमा माओवादी शान्ति प्रक्रियामा आएसँगै खुला राजनीतिमा प्रवेश गरेका बादल त्यसयता पनि चर्चा र आलोचनाको केन्द्रमै छन् ।

पहिलो संविधानसभा निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री हुँदा बादल क्याबिनेटमा रक्षामन्त्री थिए । कटवाल काण्डपछि प्रचण्डले राजीनामा दिएसँगै बादलको सिंहदरबार यात्रामा ब्रेक लागेको थियो । तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई बर्खास्त गर्न प्रचण्डलाई बादलले नै दबाब दिएको चर्चासमेत त्यतिबेला थियो ।

ठीक त्यतिबेलै माओवादीमा वैचारिक बहस उत्कर्षमा पुगेको थियो । जनविद्रोह कि संविधान निर्माण भन्ने दुई लाइन संघर्षमा बादल जनविद्रोहको लाइनमा उभिएका थिए । संघर्ष चरम उत्कर्षमा पुगेपछि माओवादी फुट्यो । मोहन वैद्य किरणको नेतृत्वमा बादलहरुले नयाँ पार्टी गठन गरे । प्रचण्डलाई लालगद्दारको संज्ञा दिँदै बाहिरिएका बादल वैद्य नेतृत्वको ड्यास माओवादीको महासचिव बने ।

“विडम्बना,हाम्रो सम्बन्धमा एउटा चिज धमिरा बनेर घुस्यो । त्यहाँ लिनप्याओ घुस्यो । हाम्रो सम्बन्ध अब होक्जा र लिनप्याओको भयो वा बनाइदिए । साँच्ची यो हो त ? होक्जा र लिनप्याओ को हो त ? इतिहासका तथ्यहरूले साबित गर्छन् । हामी होक्जा हौं ? लिनप्याओ हो त म ? मैले कमरेड अध्यक्षको सत्ता उल्ट्याउन खोजेकै हो त ? मैले इतिहासमा यसको जवाफ दिनुपर्छ ।’

प्रचण्डले क्रान्तिलाई धोका दिएको निष्कर्ष निकालेर नयाँ जनवादी क्रान्ति गर्ने उद्घोष गरेका बादल अन्तत: वैद्यसँग पनि लामो समय रहन सकेनन् । र आफैँद्वारा लालगद्दार घोषित प्रचण्डसँग पार्टी एकता गर्दै मूलधारमै फर्किए । र,एमालेसँग पार्टी एकता गरी बनेको नेकपाको सचिवालय सदस्य र गृहमन्त्री बने । नेकपाको अन्तरसंघर्षमा तटस्थ रहेका उनी पुस ५ को प्रतिनिधिसभा विघटनको समर्थन गर्दै केपी शर्मा ओलीको पक्षमा खुले । फागुन २३ को सर्वोच्च अदालतको फैसलाले माओवादी र एमाले पुरानै अवस्थामा फर्किएपनि बादल फर्किएनन् । बरु सांसद पद नै धरापमा पारेर मन्त्री जोगाउँदै एमालेमा छिरे।

झण्डै चार दशक कम्युनिष्ट आन्दोलनमा बिताइसकेका बादलमाथि बेलाबेला लिन प्याओवादीको आरोप लाग्ने गरेको छ । जनयुध्दताका उनीमाथि यस्तो आरोप धेरै लाग्ने गरेको थियो । आफूमाथि लागेको यस्तो आरोपको उनले बेलाबेला खण्डन पनि गर्दै आएका छन् । तत्कालीन माओवादीको २०६२ असोजमा सम्पन्न चुनवाङ बैठकमा त उनले आफूबाट इतिहासमा गम्भीर गल्ती भएको भन्दै प्रचण्डमा बिलिन भएको घोषणा नै गरेका थिए ।

आफ्नो एकमात्र ध्येय क्रान्ति भएको र क्रान्तिका पक्षमा जस्तासुकै भूमिका खेल्ने प्रतिवद्धता पनि उनले जनाएका थिए । बैठकमा बादलले आफू षड्यन्त्रकारी नभएको दलिल पेश गर्दै आफूलाई सफाइका लागि आग्रह गरेको भिडियो अहिले पनि सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

उनले रुँदै भनेका थिए, ‘मैले कमरेड प्रचण्डलाई भन्ने गर्थें,म उचाइ होइन कमरेड, म शिखर होइन । म शिखर हुन चाहन्न र मेरो त्यो विशेषता पनि होइन । म त आधार हुँ कमरेड । म त एउटा जग हुँ । सायद त्यो उचाइलाई कायम राख्न जग मजबुत हुनुपर्थ्यो । जग मजबुत भएन भने उचाइको अर्थ रहँदैन । त्यो गर्ल्यामगुर्लुम ट्वीन टावरजसरी ढल्छ । त्यो उचाइ धेरै भयो भने जग भासिन्छ । विडम्बना,हाम्रो सम्बन्धमा एउटा चिज धमिरा बनेर घुस्यो । त्यहाँ लिनप्याओ घुस्यो । हाम्रो सम्बन्ध अब होक्जा र लिनप्याओको भयो वा बनाइदिए । साँच्ची यो हो त ? होक्जा र लिनप्याओ को हो त ? इतिहासका तथ्यहरूले साबित गर्छन् । हामी होक्जा हौं ? लिनप्याओ हो त म ? मैले कमरेड अध्यक्षको सत्ता उल्ट्याउन खोजेकै हो त ? मैले इतिहासमा यसको जवाफ दिनुपर्छ ।’

यद्यपि पछिल्लो कालखण्डमा पनि बादलमाथि लिनप्याओवादीको आरोप भने लागिरहेकै छ । प्रचण्डलाई खुशी बनाएर गृहमन्त्री बनेको र अन्तिममा धोका दिएर एमालेमा गएकाले माओवादी पंक्तिबाट त्यस्तो आरोप लाग्ने गरेको हो । आफूनिकट ५३ जना केन्द्रीय सदस्यलाई माओवादीमै छोडेर एमालेमा गएका बादलमाथि त्यहाँ पनि लिनप्याओवादीको आरोप लागेको छ । हिजोदेखि शुरु भएको एमाले स्थायी कमिटी बैठकमा त्यस्तो आरोप लागेको हो ।

बैठकमा बादलले अध्यक्ष केपी शर्मा ओलीको देवत्वकरण गर्दै तत्कालीन माधव नेपाल समूहका नेताहरुलाई अराजकतावादीको आरोप लगाए । ओलीको देवत्वकरण गर्दै बादलले एमाले निर्माणमा भूमिका खेलेका नेताहरुलाई अराजक भनेपछि आक्रोशित उपमहासचिव घनश्याम भुसालले लिनप्याओको सन्दर्भ बैठकमा उठाएका हुन् । स्थायी समिति सदस्य रघु पन्तका अनुसार भुसालले ‘जहाँ बादल त्यहीँ लिनप्याओ प्रवृत्ति’ भनेका थिए ।

विधान महाधिवेशनको समीक्षा र आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न बोलाइएको बैठकमा आफ्ना धारणा राखेका बादलले सम्पूर्ण समय ओलीको प्रशंसामा खर्च गरे । ओलीको बचाउमा उनले आफ्ना अभिव्यक्तिको सैद्धान्तिकरण गर्दै विधान महाधिवेशनलाई अराजकताका विरुद्ध नेतृत्वको पक्षमा सम्पूर्ण क्रान्तिकारीहरु गोलबध्द भएको महान उत्सवको संज्ञा दिएका थिए ।

उनले भने,’यो दक्षिणपन्थ विरुध्दको अभियान हो,नेतृत्वको पक्षमा क्रान्तिकारीहरु गोलबध्द भएको उत्सव हो । सुन्नेलाई नै असहज लाग्नेगरी उनले ओलीको प्रशँशालाई सैध्दान्तिकरण गर्न थालेपछि नजिकै रहेका भुसालले उपनेता सुवास नेम्वाङ्ग र महासचिव इश्वरतिर फर्केर सबैले सुन्ने गरी ‘बादल जहाँ गयो त्यहीँ लिनप्याओ’ भनिदिए ।

ओलीप्रति बादलको आशक्तिलाई एमालेका ओलीनिकटहरुले समेत मन नपराएको बताइन्छ । आफू निकट सबै नेता-कार्यकर्ता माओवादीमै छोडेर एक्लै एमालेमा आएर पनि बादलले ठूलो भाग खोजेको उनीहरुको बुझाइ छ । ओली निकट नेताहरुका अनुसार महाधिवेशनमा ओलीपछिको वरिष्ठ उपाध्यक्षका लागि बादलले अहिलेदेखि नै चाकडी थालेका हुन् । वरिष्ठ उपाध्यक्षको दौडमा रहेका महासचिव ईश्वर पोखरेल र पूर्वसभामुख सुवास नेम्वाङले बादलको सक्रियतालाई निको नमानेको जानकारहरु बताउँछन् ।

कम्युनिष्ट आन्दोलनमा नेतृत्वको चाकडी गरेर नेतृत्व हत्याउने प्रवृत्तिलाई लिनप्याओवादी भनेर संश्लेषण गरिएको छ । मार्क्स र स्टालिनको पालामा पनि यस्तो प्रवृत्ति देखिएको थियो । तर, चिनियाँ सांस्कृतिक क्रान्तिपछि ‘लिनप्याओवादी’ शव्द प्रयोगमा आएको हो । १९५९ मा रक्षामन्त्री बनेका लिनप्याओ सन् १९६९ को नवौं महाधिवेशनबाट चिनियाँ कम्युनिष्ट पार्टीको उपाध्यक्ष र घोषित रुपमै माओको उत्तराधिकारी भएका थिए ।

त्यतिबेला लिन प्याओ भन्थे- ‘अध्यक्ष माओ असाधारण रुपले महान् हुनुहुन्छ । अध्यक्षका सबै कुरा महान् छन् । अध्यक्ष माओका हरेक शब्दको अर्थ हामी जस्ता हजार जनाले बोलेको भन्दा बढी हुन्छ ।’ यिनै लिन प्याओले पछि माओलाई मार्न ‘प्रोजेक्ट ५७१’ तयार गरे । षड्यन्त्रको योजना खुलेपछि उनी मंगोलियातर्फ भागे । जहाँ हवाई दुर्घटनामा उनको सपरिवार मृत्यु भयो ।

टिप्पणीहरू