​एकमना विपक्षी

प्रधानमन्त्री केपी ओलीले राजपा अध्यक्ष महन्थ ठाकुरलाई पनि सरकारमा समावेश हुन आह्वान गर्नुभएछ । अस्ति ठाकुरलाई बालुवाटारमै बोलाएर उहाँले सरकारमा आउन अनुरोध गर्नुभएको थियो । संघीय समाजवादी फोरम त सरकारमा जाने भइ नै सक्यो । अब बाँकी राजपा मात्रै हो । 

अहिलेको संसदमा राष्ट्रिय मान्यताप्राप्त दल पाँचवटै मात्र हो । त्यो पाँचमा एमाले र माओवादी एउटै हुने भइसक्यो । संघीय समाजवादी फोरम सरकारमा आउँदै छ । राष्ट्रिय जनता पार्टी पनि आइदियो भने बाँकी त नेपाली कांग्रेस एउटै मात्र रहन्छ । 

केही गरी स्थिति यही भइदियो भने त्योचाहिँ गजबै हुन्छ । संसदमा पाँचवटा पार्टी । पाँचमध्ये चार सत्तामा, एउटा मात्र विपक्षमा । यो समीकरणै अनौठो हुने भयो । सामान्यतया संसदीय अभ्यासमा एउटा वा दुइटा पार्टी सरकारमा जाने हो, बाँकी जम्मै विपक्षी हुन्छ । त्यसमध्ये एउटा विपक्षी प्रमुख विपक्षी हुन्छ । अब यहाँ त जम्मै पार्टी सत्तामा, एउटा मात्रै विपक्षमा विपक्षी बेञ्चमा एक्लो पार्टी । कांग्रेसले त सुती सुती विपक्ष चलाउने भो बा ! 

पहिले पहिले सर्वोच्च नेता गणेशमान सिंह भन्ने गर्नुहुन्थ्यो – कांग्रेसले एकमना सरकार चलाउँछ । उहाँको पालामा चलाएको पनि हो । तर अहिले त्यो जमाना गुज्रियो । अहिले कांग्रेस एकमना सरकार होइन एकमना विपक्षी चलाउने स्थितिमा आइपुगेको छ । आखिर कांग्रेसले एकमना सरकार होइन एकमना छायाँ सरकारचाहिँ राम्ररी चलाउने भयो । 

टिप्पणीहरू