अदालतका आदेश अनेक

कहिलेकाहीं नेपालका मिडियाकर्मी कागले कान लग्यो भनेर त्यसैको पछि दौडँदा रहेछन् । प्रधानन्यायाधीश गोपाल पराजुली मेडिकल माफियाको गोटी बनेको भनिए तापनि लहरो तान्दा पहरो थर्कने स्थिति छ ।

सर्वोच्चमा परेका मेडिकल कलेजसम्बन्धी सबै मुद्दा उनैले हेर्छन् भन्ने आमचर्चा छ । तर, युनिभर्सल इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रालिका अध्यक्ष प्रा. खुमाप्रसाद अर्यालले शिक्षा मन्त्रालयलाई विपक्षी बनाई दिएको निवेदनमा न्यायाधीश चोलेन्द्रसमशेर जबराले २०७१ असार १३ गते अन्तरिम आदेश दिएको देखिन्छ । उनले उक्त मेडिकल कलेजको सिट संख्या घटाउने निर्णय बदर गरेका थिए । त्यस्तै बिटी शर्माले आईओएम डिन कार्यालयविरुद्ध दिएको निवेदनमा पनि २०७२ कात्तिक २३ गते आदेश आएको देखिन्छ । अझ बिटी शर्माको हकमा त चिकित्साशास्त्र अध्ययन संस्थानले एमबिबिएस प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेकोमा रोक्न माग गर्दा तुरुन्त भर्ना लिन दिने अदालतको आदेश थियो । रिट निवेदकले मागेभन्दा एक कदमअगाडि बढेर विद्यार्थीको हितमा हुनेगरी भन्ने नाममा आदेश आएको हो । 

त्यसो त सुशीला कार्की स्वयंले पनि प्रधानन्यायाधीश रहेको बेला कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको तर्फबाट बुद्धिमान श्रेष्ठले नेपाल मेडिकल काउन्सिलविरुद्ध दिएको मुद्दाको सुनुवाइमा २०७३ मंसिर ५ गते आदेश दिएको पाइन्छ । के प्रमाणले बोलेको कुरा नमान्न र नपत्याउन मिल्छ ? बिटी शर्माको मुद्दामा सुशीला कार्की र गोविन्दकुमार उपाध्यायको संयुक्त इजलाशले २०७२ मंसिर ८ गते उत्प्रेषण आदेश दिएको छ । अनि बुद्धिमान श्रेष्ठको मुद्दामा जगदिश शर्मा पौडेल र हरिकृष्ण कार्कीको इजलाशले २०७३ फागुन ३ गते बोलेको पाइन्छ । गोपाल पराजुलीले ओमप्रकाश मिश्रसहितको इजलासबाट २०७१ कात्तिक २५ गते, दामोदरप्रसाद शर्मा र गोपाल पराजुलीको संयुक्त इजलाशले पिपल्स डेन्टल कलेजको रिटमा २०७१ साउन २० गते र पराजुलीको एकल इजलाशले पिपल्सकै मुद्दामा एउटा उत्प्रेषण आदेश दिएको रेकर्ड छ ।

फेरि पनि उल्लेख गर्नैपर्ने कुरा के हो भने रिट नं. २०७२–डब्लुओ–०३३ को बिटी शर्माको निवेदनमा अन्तरिम आदेशको माग नै छैन तर सो मुद्दामा सुशीला कार्की र गोविन्द उपाध्यायले अन्तरिम आदेश दिएको भेटिन्छ । उता रिट नंं. ०७२–डब्लुओ–०८, रोशन लुइँटेलको मुद्दामा गोपाल पराजुलीले अन्तरिम आदेश नदिई सिधै छलफलमा बोलाएको देखिन्छ ।

– उमाकान्त पौडेल, स्याङ्जा

टिप्पणीहरू