प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात

प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात

-अमृतप्रसाद पौडेल

म्याग्दीको सदरमुकामस्थित बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई कार्यकक्षमै दुर्व्यवहार भएको छ । २०७८ असोज २४ गते आइतबार दिउँसो सुवेदीसँग काम छ भन्दै कार्यकक्षमा पुगेका चार जनाले कालोपदार्थ (मोबिल) प्रहार गरेका हुन् ।

कार्यकक्षमा बसेर काम गरिरहेको अवस्थामा एकाएक भित्र छिरेर कालोपदार्थ आफूतिर प्रहार गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘विगतमा पनि चन्दा मागेका थिए, दिन सकिएन । पहिला आउने र अहिले आएकाहरु समूह फरक होलान् तर गलत नियतका साथ आएर दुर्व्यवहार गरे । सुरक्षा निकायले उचित छानबिनका साथै कारवाही गर्ने आश गरेका छौं ।’यसअघि पटक पटक चन्दा मागिएको र आफूले दिन नमिल्ने भनेपछि अस्तिको घटना भएको सुवेदीको भनाइ छ । मोबिल प्रहारबाट प्रमुख प्रशासकीय अधिकृत सुवेदी बस्ने कुर्सी,टेबुल र कुर्सी पछाडिको भित्तामा समेत असर पुगेको छ । मोबिल प्रहार गरेर भाग्दै गरेको अवस्थामा कार्यकक्षमै रहेका जनप्रतिनिधिले एक जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

मुगु घर बताउने करिब १९ वर्षका जीवन बिक नामक ती व्यक्तिलाई नगरपालिकाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले यसअघि कुनै पनि समयमा यस्तो सुरक्षा थ्रेट रहेको जानकारी गराउनुभएको थिएन । तर घटनापछि मात्रै विगतमा चन्दा माग भएको र आफूले नदिएको बताउनुले थ्रेट रहेको देखियो ।’घटनास्थलबाट प्रहरीले युवा संगठन नेपालको नाममा छापिएको सहयोग रसिद,१ सेट मोबाइल,घडी, कलमलगायतका सामग्री बरामद गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको र उक्त घटनामा संलग्न तथा फरारहरुको खोजीकार्य जारी रहेको डिएसपी राईले बताउनुभयो । ‘घटनाको बारेमा अनुसन्धान हुन्छ र राज्यको कानुनअनुसार कारबाही हुन्छ,’ उहाँले भन्नुभयो ।

यसअघि पनि बेनी नगरपालिका–२, ज्यामरुककोटका वडाध्यक्ष हिराबहादुर थापालाई दुई वर्षअघि अज्ञात समूहले कार्यकक्षमै रहेको समयमा कालोमोसो दलेर दुर्व्यवहार गरेको थियो ।

टिप्पणीहरू