होटल खोलेर लागुऔषधको बेरोकतोक कारोबार

होटल खोलेर लागुऔषधको बेरोकतोक कारोबार

मोरङमा विभिन्न आवरणमा लागुऔषध कारोबार हुन थालेको छ । सोही क्रममा होटल र रेष्टुरेण्ट खोलेर त्यहिँबाट लागुऔषधको कारोबार गर्न थालेको रहस्य खुलेको हो ।

हिजो मोरंगका विभिन्न स्थानबाट लागुऔषधका दुई कारोबारी पुलिसको फन्दामा परेका छन् । पक्राउ पर्नेहरुमध्ये होटल सञ्चालनको आवरणमा लागुऔषध बेचविखनमा सक्रिय एक जना साहु समेत रहेका छन् । कानूनको फन्दामा पर्ने विराटनगर महानगरपालिका १५ स्थित सायरा होटल सञ्चालक २८ वर्षीय रमेश साह हुन् ।

प्रहरीले हिजो दिउँसो होटलमा छापा मार्दा उनी प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका थिए । सो क्रममा डायलेक्स डिसी १५ बोतल, नाइट्राभेट ४२, स्पास्मोप्रिजिभोन २४ र स्पासट्रान्कोन प्लस ३४ चक्कीका साथै २ सय ४० ग्राम गाँजासमेत बरामद भएको छ । इलाका प्रहरी कार्यालय रानीले घटनाको थप अनुसन्धान अघि बढाएको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता एसपी नविनराज राईले बताउनुभएको छ ।

त्यसैगरी फन्दामा पर्ने अर्का व्यक्ति मोरङको केराबारी गाउँपालिका ७, डाँगीका ३० वर्षीय विशाल लिम्बु हुन् । उनलाई पनि हिजो बिहान प्रहरीले सोही स्थानबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ब्राउन सुगर १ ग्राम ९ सय मिलिग्रामसमेत बरामद गरेको छ । उनी दुर्ब्यसनीका साथै कारोबारमा संलग्न रहेको आशंका प्रहरीको छ । उनलाई पनि हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी कार्यालय केराबारीले जनाएको छ ।

टिप्पणीहरू