​सचिवलाई यसो भनिन् सुष्माले

केपी ओली र सुष्मा स्वराजबीच भएको वन टु वन वार्तापछि १५ मिनेटसम्म सामुहिक चिया गफ चल्यो । त्यो समय उनीहरूबीच पूर्णतया एउटा विषयमा लामै संवाद भएको थियो । दुवै नेतालाई सताइरहेको मिर्गाैला रोग । केपी ओलीले ११ वर्षअगाडि नै मिर्गाैला प्रत्यारोपण गरेका थिए भने स्वराजले सोसम्बन्धी उपचार गरेको धेरै भएको छैन । त्यसैले खानपिनमा विशेष ध्यान दिएकी थिइन् ।

उनले यहाँ रहुञ्जेल खिचडी खाइन् भने पटक पटक हात पुछ्दै संक्रमणबाट बच्न ह्याण्डवास लिक्विड प्रयोग गरिन् । धेरै ठाउँ सरेर नबस्ने तथा कसैको अति निकट नजानेसम्मका सावधानी अपनाइन् । सोही भेटमा नयाँ विदेशसचिव विजय गोखलेले आफू पहिलोपटक नेपाल आएको र आफ्ना बुबाले आमा भिœयाएको शीतल निवास हेर्न आतुर रहेको बताएका थिए । उनको यो पहिलो नेपाल भ्रमण भएको चर्चा चल्दा सुष्माले भनिन्, ‘यो त हुँदै भएन, यहाँ हाम्रा यति धेरै परियोजना छन् ।

तपाईं कम्तिमा पनि अब महिनाको एक पटक नेपाल आउने गरी रुटिन बनाउनुहोस् ।’ उनैले थपिन्, ‘अब नयाँ सरकार आएपछि हामी अरु धेरै परियोजना निर्माण गर्दै छौं, त्यसैले त्यसको अनुगमनका लागि पनि तपाईं नेपाल आइरहनुपर्छ ।’ विदेश सचिवले आफ्ना हजुरबुबा नेपालमा राजदूत भएर आएका बेला बाबुको विवाह यहीं भएको बताए । तर, यसपटक के अनौठो भयो भने कुनै पनि वार्ता तथा भेटघाटमा भारतीय पक्षले ‘सबैलाई मिलाएर जाऊ’ भनी सल्लाह दिएन । बरु तीनवटा चुनाव सम्पन्न भएकोमा बधाई दिइयो । नयाँ सरकार निर्माणको शुभकामना दिँदै भनियो, ‘हामी मिलेर काम गर्न तयार छौं ।’

लिफ्टमै लफडा
मोदीकी दूतको रूपमा आएकी विदेशमन्त्री सुष्मा स्वराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि भिआइपी बाटो र लिफ्ट प्रयोग गर्न पाइनन् । भिआइपी ओहोर दोहोरका लागि मात्र प्रयोग गरिने यो लिफ्ट नागरिक उड्डयन प्राधिकरण एयरपोर्टका कर्मचारीको लापरबाहीका कारण बेकामे भएको छ । लिफ्ट बिग्रिएको महिनौं भइसकेको छ । तर, बनाइएको छैन । एयरपोर्टका महत्वपूर्ण स्थानमध्ये भिआइपीको प्रयोगका लागि निर्मित कक्ष, लिफ्ट र बाटोसमेत पर्छन् । भिआइपी कक्षमा जानकै लागि निर्मित लिफ्ट बिग्रिएकाले एयरपोर्ट भ्रमण वा कामका लागि जाने तथा कर्मचारीले प्रयोग गर्ने लिफ्टबाट सुष्मालाई झारियो । सर्वसाधारणले प्रयोग गर्ने बाटो र लिफ्टबाट झारी हिँडाउँदा थप सुरक्षा सतर्कता अपनाउनुका साथै बढी नै खतरा मोल्नुपर्ने बाध्यता हुने नै भयो ।

तैपनि, लिफ्ट मर्मत वा नयाँ जडानतर्फ प्राधिकरण व्यवस्थापनको ध्यान गएको छैन । लिफ्ट व्यवस्थापनको जिम्मा एयरपोर्ट अप्रेसन डिपार्टमेन्टका निर्देशक प्रेमनाथ ठाकुरको भए पनि उनले यसतर्फ ध्यान दिएका छैनन् । मर्मत गरेर चलाउन सकिने अवस्था भए पनि उच्चाधिकारीहरू नयाँ जडान गर्नेतर्फ केन्द्रित भएको बताइएको छ । 

सुष्मा फर्कंदा प्रेमनाथ र खटिएका सुरक्षाकर्मी झन् फसादमा परेका थिए । उनी फर्कनु डेढ घण्टाअघि कर्मचारी र आन्तरिक भ्रमणकर्ताले प्रयोग गर्ने लिफ्ट पनि बिग्रियो । प्राधिकरणका उच्चाधिकारी र सुरक्षाकर्मीबीच निकै छटपटीको वातावरण बन्यो । धन्न ठोकठाक् पारेपछि सुष्माले आउँदा प्रयोग गरेको लिफ्ट बन्यो । तर, प्रेमनाथहरू यति धेरै तनावमा थिए कि कतै सुष्मा चढेकै बेला लिफ्ट रोकिने पो हो कि ! त्यसैले सुष्मा लिफ्ट चढेदेखि ननिस्किएसम्मका लागि प्राविधिक र सुरक्षाकर्मीलाई सतर्क अवस्थामा खडा गराइएको थियो ।

टिप्पणीहरू