माथि भोड्का, तल गाँजा

नवलपुरको इलाका प्रहरी कार्यालय, गैंडाकोटबाट २–३ किलोमिटरभित्रै प्रतिबन्धित लागुऔषध गाँजाको भरमार व्यापार भइरहेको छ । ग्रेसचोकदेखि गणेश मन्दिर हुँदै कालिका स्कुल जाने बाटोमा सुब्बा खाजा घर लेखिएको होटल छ । त्यहाँ दुईवटा घरको बीचमा साँघुरो गल्ली छ । उक्त गल्लीमा होटल नभएको घरको झ्यालबाट गाँजा बेच्ने गरिन्छ । व्यापारी युवकले घरको पछाडि बसेर पनि यो कारोबार गर्दै आएका छन् । पत्रिकामा पाँच सय र तीन सय रूपैयाँको पोको बनाएर गाँजा बेच्ने गरेको पाइन्छ । किलोको दुई÷चार हजार रूपैयाँमा ल्याइएका गाँजा पाँच सय रूपैयाँको ५० ग्रामजति बेच्ने गरिन्छ । दुई किलो गाँजा कट्न तीन दिन पनि लाग्दैन ।

यस्तै, कालीगण्डकी चोकबाट भित्र इँटाभट्टा, धारापानीको कुल मन्दिरभन्दा करिब दुई सय मिटरअगाडि एउटैको जस्तो देखिने दुईवटा स–साना घर छन् । त्यहाँ पनि एक जना अधवैंशे पुरुषले यस्तै तीन सय र पाँच सयको पोका बनाएर गाँजाको व्यापार गरिरहेका छन् । विजयचोकमा माथि रुस्लान रक्सीको बोर्ड टाँगिएको एउटा होटलमा महिलाले गाँजा बेच्छिन् । रानीतालतिर पनि गाँजा बिक्री–वितरण भइरहेको सुनिन्छ । हनुमान मन्दिर, ढोडेनी, बाघखोरलगायत स्थानमा गाँजाको पुरानोभन्दा पुरानो अखडा छन् । विगतमा एक÷दुईपटक समातिएकाहरूले समेत गाँजाको निष्फिक्री व्यापार गरिरहेको पाइन्छ । 

गाँजाको सहज उपलब्धताको कारण भर्खर ७÷८ मा पढ्ने विद्यार्थीसमेत कुलतमा फस्दै गएका छन् । यसका प्रयोगकर्ता पछि छोड्नै नसक्ने हुन्छन् ।  गाँजा नभई नहुने, त्यसमै बढी ध्यान जाने तथा खान नपाउँदा दैनिक कार्य गर्नै अक्षम हुन्छन् गँजेडीहरू । गाँजा, रक्सी हुँदै ट्याब्लेट, ब्राउनसुगर र सिरिञ्जसम्म प्रयोगकर्ता पुग्ने गरेका छन् । गैरकानुनी चिज डराइडराई लुकीचोरी खाँदा आत्मबल कमजोर हुन्छ । 
गैंडाकोटमा अवैध घरेलु रक्सीको उत्पादन तथा बिक्री–वितरण पनि छ्याप्छ्याप्ती छ । माथि ढोंडेनीबाट यात्रुवाहक जिपको अलावा ट्याक्सी रिजर्भ गरेर घरेलु रक्सी तल बजारका होटलमा ओसार्ने गरिँदै आएको छ । 

टिप्पणीहरू