सीमा नाका खुल्यो,कोरोनाको डर बढ्यो

सीमा नाका खुल्यो,कोरोनाको डर बढ्यो

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोनाको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न नागरिकहरुलाई पुनः आह्वान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कोरोनाको जोखिम कायमै रहेको भन्दै त्यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न सबै नागरिकलाई पुनः आह्वान गर्नु भएको हो ।

२ दिनअघि भारतसँग जोडिएको बेलहिया सीमा नाका सुचारु भएसँगै कोरोनाको जोखिम झनै बढेर जाने देखिएपछि स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी त्यसको जोखिमबाट बच्न नागरिकलाई आह्वान गरेको छ ।

तिवारीले भन्नुभयो,‘कोरोना जोखिम कम गर्नका लागि हामीले सीमा नाकाहरुमा स्वास्थ्य जाँचको समेत व्यवस्था गरेका छौं । र,सबै नागरिकलाई यसबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि आह्वान गरिएको छ ।’ यता स्थानीय व्यवसायीहरुले भने बेलहिया सीमा नाका खुलेसँगै आफूहरुको व्यवसाय बढेर जाने विश्वास व्यक्त गरेका छन् ।

स्थानीय पर्यटन व्यवसायी रवि पौडेलले सीमा नाका खुलेसँगै भारतीय पर्यटकहरुको चहल पहल शुरु भएको भन्दै त्यसले आफूहरुको व्यवसायलाई अघि बढाउन राहत दिएको प्रतिक्रिया दिनुभयो।  सरकारले २ दिनअघि सीमा नाका खुलाउने औपचारिक निर्णय गरेसँगै रुपन्देही बेलहिया नाका पनि खुलेको हो ।

टिप्पणीहरू