​जाँडमा हामी कति नम्बर ?

डा. बाबुराम भट्टराईको पालामा उद्योगमन्त्री रहेका अनिल झाले तत्कालिन राष्ट्रबैंकका गभर्नर दिपेन्द्रबहादुर क्षेत्री र योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले माइन्युट लेख्दालेख्दै औद्योगिक प्रवद्र्धन बोर्डमार्फत् दर्जनौं मदिरा उद्योगलाई लाइसेन्स दिलाएरै छाडे । यसबीच, जे–जति उद्योगमन्त्री भएका छन् सबैको ध्यान नयाँ मदिरा उद्योग दर्ता गरी दाम कमाउनेमै रहेको देखिन्छ ।

हालका उद्योगमन्त्री सुनिलबहादुर थापाले पनि सोही जुक्ति अपनाएर घर जाने बेला कुम्ल्याउने योजना बनाएका छन् । उद्योग सचिव, विभागका महानिर्देशक सबैलाई दबाव दिई हाल देशमा रहेका ५० भन्दा बढी मदिरा उद्योगले राम्रोसँग उत्पादन, व्यापार गर्न नपाएको अवस्थामा फेरि मदिरा उद्योग थप्ने तयारी भएको हो । २०५८ सालताका माओवादी क्रान्तिकारी महिला संघसँगको सम्झौता बमोजिम सरकारले मदिरा उद्योगको नयाँ दर्ता प्रक्रिया बन्द गरे पनि त्यसपछिका हरेकजसो मन्त्रीको नजर नयाँ उद्योग दर्तामा पर्दै आएको छ । लाइसेन्स लिएर बस्ने, म्याद सकिएपछि रिन्यु गर्ने परिपाटी पनि राम्रैसँग चम्किएको छ ।

नयाँ उद्योग दर्ता गर्नेभन्दा पनि पुराना कम्पनीको क्षमता विस्तार गर्ने, अनुगमन गर्ने कार्य आवश्यक हुन्छ । रुप खड्का अध्यक्ष रहेको कर प्रणाली पुनरवलोकन आयोगले २०७१ सालमा पेश गरेको प्रतिवेदनमा अल्कोहलको मात्राका आधारमा करको दर कायम गर्नुपर्ने सुझाव दिए पनि त्यस्तो हुन सकेको छैन । ४० र ५० युपी शक्तिको मदिराको अन्त शुल्कमा सुधार गर्नुपर्ने आवश्यकता छ ।

यसैगरी, ‘प्रमोड रिकार्ड इण्डिया’ भन्ने कम्पनीका उत्पादनले भारतमा पनि अर्बाैं रुपैयाँ भन्सार छली गरेको समाचार त्यहाँका समाचार पत्रिकाहरूले निकालेका छन् । सोही कम्पनीले उत्पादन गरेको ‘रोयल स्ट्याग’ ले नेपालमा राम्रै बजार लिइरहेको छ । भारतलाई समेत कर छल्ने यस उद्योगले नेपालमा कति कर छल्यो खोजीको विषय बनेको छ । स्मरणीय छ विश्व जँड्याहाहरूको सूचीमा नेपाल १४९ औं स्थानमा रहेको एक रिपोर्टले देखाएको छ जहाँ पहिलो नम्बरमा बेलारुस परेको छ भने चौथोमा रसिया, ८९ औं स्थानमा चाइना छ, भारत ११९ औं स्थानमा रहेको देखिन्छ । 

– राजकुमार राय

टिप्पणीहरू