सबैतिर महिला किन शून्य ?

सबैतिर महिला किन शून्य ?

भनिन्छ, नपत्याएको फाँडोले पोल्छ, गृहमन्त्री तथा कांग्रेसको १४ आैँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी बालकृष्ण खाँणलाई आफ्नै गृहनगरमा सिस्नोेले नराम्रोसँग पोलेको छ ।

रूपन्देही जिल्लाभरि पार्टीको संस्थापन र इतर पक्षबीच काँटेका टक्कर रहेकोमा बुटवल उपमहानगरपालिकामा भने नराम्रो झड्का लागेको हो । जिल्लाका १४ पालिकामा भएको पार्टीको निर्वाचनमा दुवै पक्षले आफ्नो जित भएको दाबी गरेका छन् । जिल्लाका १४ वटा पालिकामध्ये आधा सभापतिमा संस्थापन र आधामा गैरसंस्थापन पक्षले आफ्नो जित भएको दाबी गरेका छन् ।

पछिल्लो परिणामअनुसार तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका खाँण समर्थित उम्मेदवारलेको हातमा गएको छ । लुम्बिनी प्रदेशको आर्थिक राजधानी रहेको बुटवल उपमहानगरमा भने सत्तापक्षीय उम्मेदवारको लज्जाजनक पराजय भएको छ । त्यहाँ खाँणविरोधी मोर्चाका नेता खेलराज पाण्डेले ४ सय ११ मत पाउँदा खाँण समर्थित रिता केसीले जम्मा १ सय २४ मत प्राप्त गरेकी छन् । उपसभापति र सचिव पनि खाँण समर्थित नेताहरूले गुमाएका छन् ।

तिलोत्तमा नगरपालिका सभापतिमा खाँण समर्थित हरिलाल पाण्डेले जितेका छन् । सियारी गाउँपालिकामा भने गोपाल पाण्डेले खाँणविरोधी मोर्चाको नेतृत्व गर्दै विजयको ताज पहिरिएका छन् । मायादेवीमा पदम भण्डारीले गैरसंस्थापनको उम्मेदवारका रूपमा जित हासिल गरेको बताइएको छ ।

देशकै दोस्रो ठूलो बेलहिया नाका रहेको सिद्धार्थनगरमा कोशिश खड्काले जित हासिल गरेका छन् । तर, सैनामैना नगर सभापतिमा भने गैरसंस्थापनका रणबहादुर खनालले जितेका छन्। कोटहिमायी, मर्चावारी ओम सतासियामा गैरसंस्थापनले विजयको ताज पहिरिएका छन् भने देवदह र लुम्बिनी साँस्कृतिक नगरमा संस्थापनका नेता विजयी भएका छन् ।

मर्चावारी, मायाँदेवी, सियारी र शुद्धोदनका विजेता सभापति कतै नखुलेको बताइएको छ । जिल्लाका १४ सभापतिमा महिला शून्य छन् । बुटवलमा एक महिलाले सभापतिमा प्रतिस्पर्धा गरे पनि पराजय भोगेकी छन् । अन्य पालिकाको सभापतिमा महिलाको उम्मेदवारीसमेत नपरेको बताइएको छ ।

टिप्पणीहरू