जान खोजेको अमेरिका,पुगे प्रहरी खोरमा

जान खोजेको अमेरिका,पुगे प्रहरी खोरमा

इडिभी भिसाको लागि अमेरिकी दूतावासमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोग लागेका तीन जना राजधानीबाट पक्राउ परेका छन् ।

नेपालस्थित अमेरिकी दूतावासले इडिभी २०२१ मा नाम निस्किएपछि भीसा प्रक्रियामा आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिले दश जोड दुई कक्षाको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको तथ्य खुल्न आएपछि उनीहरु पक्राउ परेका हुन् ।

सोसम्बन्धमा अमेरिकी दूतावासले उपलब्ध गराएको सूचनाको आधारमा जीवन कार्की,नवीन दराई र शिव रोक्कालाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा नवीनसँग जीवनले १ लाख ७० हजार रुपैयाँ लिई उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिएको खुल्न आएपछि उनलाई समेत प्रहरीले काठमाडौं कलंकीबाट पक्राउ गरेको हो । उनीहरूलाई लिखतसम्बन्धी कसूर मुद्दामा आवश्यक अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ ।

पक्राउ पर्नेहरू काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने चितवन भरतपुर महानगरपालिका–२९ जुगेडीका ३६ वर्षीय जीवन कार्की,चितवन खैरेनी नगरपालिका–३ का ३१ वर्षीय नविन दराई र काठमाडौं कोटेश्वर बस्ने रौतहटको चन्द्रपुर नगरपालिका–९,सिन्दुरेघारीका ३२ वर्षीय शिव रोक्का हुन् ।

टिप्पणीहरू