एमालेमा ७ उपाध्यक्ष र ७० वर्ष

एमालेमा ७ उपाध्यक्ष र ७० वर्ष

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ७० वर्षे उमेर हद कायम गर्दै सम्पन्न भएको छ । प्रथम विधान महाधिवेशनको तयारीका लागि शुरु भएको केन्द्रीय कमिटी बैठक विधान,साङगठानिक र राजनीतिक दस्तावेजमाथि छलफल गर्न एक दिन लम्बिएको थियो ।

बैठकमा केन्द्रीय सदस्यहरु मूलत: विधान र यसका प्रवधानमा केन्द्रित भएर छलफल गरिएको प्रवक्ता तथा सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले विमती नराखेको नेताहरुले बताए ।

“केन्द्रीय सदस्यहरुको व्यापक चासो विधान र यसका प्रावधानमा रहेको प्रष्टै बुझिन्छ । र,सबभन्दा बढि जिज्ञासासमेत यसैमा थियो” — प्रवक्ता भट्टराईले बताए । नेकपा एमालेले आफनो विधान महाधिवेशनमा केन्द्रीय कमिटीले अनुमोदन गरेको विधान छलफलका लागि लैजाने छ । यसमा रहेका विविध प्रावधानका वारेमा प्रथम विधान महाधिवेशनमै छलफल हुने छ र पारित विधान दशौँ महाधिवेशन बाट कार्यन्ययन हुने छ ।

विधान महाधिवेशनमा सम्भवत: प्रतिनिधिहरुको सङख्यासमेत घट्ने देखिन्छ भने उपाध्यक्षको सङख्या ३ बाट ५ हुँदै ७ सम्म पुग्नेगरी सहमति भएको एक नेताले बताए । एमालेमा उपाध्यक्षको सङख्या बढाउँदा सँभवत : सचिवको संख्या घट्न सक्ने छ ।

यसवाहेक केन्द्रीय कमिटीले सबै कमिटीमा दुई वर्षे कार्यकालको हद समेत लाग्ने गरी विधान अनुमोदन गरेको छ । आजको बैठकले पारित गरेको विधान जस्ताको तस्तै अनुमोदन भए अब एमालेका सबै कमिटीका कार्यकारी पदमा रहेका नेताहरुलाई दुई कार्यकालको हद लाग्ने छ ।

एमालेको विधान महाधिवेशनमा केन्द्रीय निकायको रुपमा रहेका निर्वाचन आयोग,अनुशासन आयोग, लेखा आयोग,सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मन्चले भाग लिने छन् ।

त्यस्तै केन्द्रीय विभागबाट सचिवसहित ५ जना सदस्यले भाग लिने भट्टराईले बताए । जिल्ला कमिटीका पदाधिकारीसहित निर्वाचन क्षेत्रबाट एक महिला र एकजना दलितले जिल्लाबाट प्रतिनिधित्व गर्नेछन् । त्यस्तै घोषित जनसंगठनबाट पदाधिकारीसहित वरिष्ठतम १० जना सदस्य सहभागी हुने भट्टराईले बताए ।

यीबाहेक प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य,प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले भाग लिने भट्टराईले बताए ।

टिप्पणीहरू