मनमोहन अधिकारीकी भतिजी माधव नेपालको पार्टीमा

मनमोहन अधिकारीकी भतिजी माधव नेपालको पार्टीमा

पूर्वअर्थमन्त्री तथा एमाले नेता स्वर्गीय भरतमोहन अधिकारीकी पुत्री लिमा अधिकारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेकी छन् ।

उनले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट राजनीति अघि बढाउन लागेकी हुन् । एकीकृत समाजवादीले अधिकारीलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

लिमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत् सामाजिक सेवामा सक्रिय थिइन् । उनी नेपाल चेम्बर अफ कमर्सअन्तर्गत महिला चेम्बरको महासचिव समेत हुन् ।

लिमाले ठूलोबुबा एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी र बुबा भरतमोहनले राजनीतिमार्फत गर्न खोज्नुभएको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताएकी छन् । ‘मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहनुभएको एमालेको नौ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा,आफ्नो गाउँ आफैं बनाऔं, महिलाका नाममा घरजग्गाको स्वामित्व जस्ता एजेण्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको छ,’ अधिकारीले भनेकी छन् ।

‘तर मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले राजनीतिमा हामीजस्ता युवाहरुको आवश्यकताबोध भएर सक्रिय राजनीति गर्ने सोच बनाएकी हुँ,’ उनले राजनीतिमा सक्रिय हुन पर्नाको कारण उल्लेख गर्दै भनेकी छन्, ‘मुलुकबाट लिने नभई दिने उद्देश्य राख्नुपर्यो ।’

लिमा स्वर्गीय अधिकारीका तीन छोरीमध्ये माहिली हुन् । स्थापित व्यापारिक घरानाभित्र वैवाहिक सम्बन्धमा रहेकी लिमाको परिवार बैंकिङ,जलविद्युत,सफ्टेवयर तथा इन्टरनेटसम्बन्धी व्यवसायमा संलग्न छ । उनका श्रीमान सुदीप आचार्य कामना सेवा विकास बैंकका अध्यक्ष तथा टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोम नेटवर्कमा प्रबन्ध निर्देशक छन् ।

यस्तै ससुरा कृष्ण आचार्य पनि स्थापित व्यवसायी हुन् । आचार्य २०६२/०६३ को जनआन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभामा व्यवसायीका तर्फबाट अन्तरिम विधायक थिए । आचार्य हाल स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष छन् ।

टिप्पणीहरू