मन्त्रीदेखि सचिव भागाभाग

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन कार्यक्रम अगाडि बढिसकेको अवस्थामा आचारसंहिताका कारण कर्मचारीको नियुक्ति, सरुवा र बढुवाका काम स्वतः रोकिनुपर्ने हो । तर, उद्योग मन्त्रालयतिर त्यस्तो भइरहेको छैन ।

मन्त्री सुनील थापाको तीव्र दबाबका कारण घरेलु तथा साना उद्योग विकास समितिको कार्यकारी निर्देशक नियुक्त गर्न मन्त्रालयले प्रस्ताव अगाडि बढाएको छ । उक्त पदका लागि खुला प्रतिस्पर्धाबाट उम्मेदवारहरुको दरखास्त आह्वान गरिएको थियो । त्यसो गरिँदा तीनजनाको नाम निस्किएमध्ये तेस्रो नम्बरका नारदमणि लामिछानेको नाम अगाडि सारिएको छ ।

दोस्रोमा रामचन्द्र अधिकारी र पहिलो नम्बरका नवीनकुमार झाको नाम निस्किएको थियो । अर्का मन्त्री विक्रम पाण्डेको अनुरोधमा नारदमणिको नाम अघि बढेको हो । उता, सोमबारको मन्त्रिपरिषद् बैठकले लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउँदै केही सचिवको सरुवा पनि गरेको छ । तर, त्यही बैठकमा उद्योग सचिव फेर्ने मन्त्रीको ठाडो प्रस्ताव अस्वीकृत भएको छ । सचिव शंकर कोइराला हुन् । उनले गृह मन्त्रालयमा जान खोजेका थिए । उनी गृहकै क्याडर पनि हुन् । तर, कांग्रेस पृष्ठभूमिका उनलाई त्यहाँ पठाउन स्वयं प्रधानमन्त्री नै इच्छुक देखिएनन् । त्यस्तै, बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढेको छ । मन्त्रालयले अहिले त्यहीँका रिटायर्ड कर्मचारी सुुवाष सिटौलाको नाम अगाडि सारेको छ ।

त्यस्तै, वाम तालमेलको घोषणा भएकै दिनदेखि मन्त्रालयबाट हराएकी स्वास्थ्य सचिव डा.किरण रेग्मी दीपक बोहोरा मन्त्री पदमा नियुक्त भएपछि मात्र झुल्किएकी छन् । बोहोराले कुकुर तिहारका दिन माला लगाएर पद बहाली गरे । जाने बेलामा अहिलेका विनाविभागीय मन्त्री गिरिराजमणिले पत्रकार सम्मेलन गर्न खोजेका थिए । तर, सचिवको सहयोग नहुँदा भएन । कारण हो, चीनका लागि पूर्व राजदूतसमेत रहेका डा.महेश मास्केलाई कुनै जिम्मेवारी दिने मन्त्रीको दबाब । तर, सचिव त्यो कुराबाट टाढिँदै हिँडेकी थिइन् । गिरिराजमणि गएपछि डा.मास्केलाई काम दिनकै लागि उच्चस्तरीय स्वास्थ्य नीति कार्यदल गठन भएको थियो ।

संयोजक मन्त्री आफैँ थिए । कार्यकारी उपाध्यक्ष डा.मास्के थिए । छोटो समय भएका कारण केही काम अघि बढ्न सकेको थिएन । त्यसैले जानुअघि हतार हतार रिपोर्ट बनाएर पत्रिकामा विज्ञापन स्वरुप छापियो । त्यसमा मन्त्री र डा.मास्केको सही छ, सचिवको छैन । गिरिराजमणिले जाने बेलामा ९ र १० तहका अधिकृतको जसरी पनि काज सरुवा गर्नुपर्ने दबाब दिएका कारण पनि सचिव बेपत्ता भएको स्वास्थ्यमा चर्चा छ ।

टिप्पणीहरू