पहिले बैंकबाट ऋण झिक्न लगाइन्, अनि भारत लगेर पतिलाई मारिन्

पहिले बैंकबाट ऋण झिक्न लगाइन्, अनि भारत लगेर पतिलाई मारिन्

सिरहाको गोलबजार नगरपालिका–४,निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई प्रहरीले पक्राउ गरेको छ ।

दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनगरस्थित बरही गाउँमा घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो । भारतीय भूमिमा दुखरनको शव फेला परेपछि उताका प्रहरीले नेपाल प्रहरीसँगको समन्वयमा अनुसन्धान अघि बढाएको थियो ।

घटनामा संलग्नमध्येका एक जना हरिहरदेवीका प्रेमी २६ वर्षीय भारतीय नागरिक मुकेश यादवलाई उतैको हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुभाष बुढाथोकीले जानकारी दिनुभएको छ । मुकेश र हरिहरदेवी २ वर्षदेखि प्रेममा रहेको बताइन्छ ।

डीएसपी सुभाषका अनुसार हरिहरदेवीले नेपालमा मोटरसाइकल किन्न महंगो हुने भएकाले घर चलाउन भन्दै झिकिएको ६० हजार रुपैयाँ ऋण खोसेर दुखरन भारतमा मोटरसाइकल किन्न गएको बताएकी छन् । तर,अनुसन्धानका क्रममा हरिहरदेवीले नै मुकेशलाई श्रीमानको हत्या गराउन गोलबजारकै एक लघुवित्त संस्थाबाट उक्त ऋण लिएको खुल्न आएको छ ।

सो ऋण निकाल्न हरिहरदेवीले श्रीमान दुखरनलाई घर चलाउने पैसा नभएको भन्दै फकाएको समेत पुष्टि भएको छ । ऋण निकालेको भोलिपल्ट श्रीमतीले आफू बिरामी भएको नाटक गर्दै उपचारका लागि दुखरनसँग भारत गएको र श्रीमानको हत्यापछि मात्र नेपाल फर्किएको प्रमाणहरु प्रहरीले पत्ता लगाएको हो ।

टिप्पणीहरू