​उनी पड्किँदा उत्पात

‘के मलाई भेडाबाख्रा ठान्नुभएको ? म हरूवा चरुवा होइन । जतिबेला तपाईंहरूले बोलाउनुभयो, त्यतिबेला समितिमा आउने र जवाफ दिने !’ 
चार दिनअगाडि मात्र भूमिसुधार मन्त्रालयबाट आपूर्तिमा तानिएका सचिव कृष्णप्रसाद देवकोटाले शुक्रवार सांसदहरूको यसरी झाँको झारे । सचिवकै शैली पछ्याउँदै सहसचिव मुकुन्द पौडेलले उल्टै मान्यहरूलाई दोष लगाए ।

‘राजदूत र महावाणिज्यदूत बनाउँदा पार्टी हेरेकै कारण र योग्य र गतिलो मान्छेलाई राजदूत र  महावाणिज्यदूत नबनाएकोले यस्तो समस्या आएको’ भन्दै उल्टै सांसदहरूलाई चार्ज लगाए । त्यसपछि त के चाहियो, उद्योग, वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण समितिअन्तर्गतको उपसमितिका दीपक कार्की, नारायण कार्की, राज्यलक्ष्मी श्रेष्ठ, सहेन्द्र वान्तवाहरू उफ्रन थालिहाले ।  बैठकको विषय थियो, एलपीजी ग्यास बुलेट सञ्चालनसम्बन्धी । सार्वजनिक बिदाको दिन टेलिफोन र पत्रमार्फत बैठकबारे जानकारी दिएकोप्रति सचिव देवकोटाको आक्रोश थियो ।

दीपक कार्कीले सचिवलाई भिटो लगाउन थाले हामी कहिल्यै अशिष्ट रूपमा प्रस्तुत भएका थिएनौं । सचिवज्यू सुरुमै आएर अशिष्ट रूपमा प्रस्तुत हुनुभयो । एकैचोटि आएर थर्काइरहनुभयो । हामीले उहाँलाई थर्काएका होइनौं । यो बेठीक भयो । भनाइ फिर्ता लिनुप¥यो । सांसद राज्यलक्ष्मी श्रेष्ठ पड्किन थालिन्, ‘के हामी सांसद बहुला हौं ? हामीलाई किन थर्काउने ? तपाईंले काम गर्न सक्नुहुन्न भने जानुहोस् । अरू आएर काम गर्छन् ।’ सांसद नारायण कार्कीले थपे, ‘धेरै पटक मन्त्री र सचिवहरूसँग मिटिङ  बस्यांै ।

अहिलेजस्तो अपमान महसुस  कहिल्यै गरेनौं । सचिव र सहसचिवको  भाषाले हामीलाई पीडा भएको छ ।’ उनी अझै रोकिएनन्, तपार्इंहरूको जस्तै तल्लो तहको गाली हामीलाई पनि गर्न आउँछ ।’ विषयवस्तु गम्भीर थियो तर सचिव र सहसचिव एकातिर, सांसदहरू अर्काेतिर भएर त्यहाँ जुहारी नै चल्यो । कार्की अझै रोकिएनन्, ‘शब्द फिर्ता लिनुहोस्’ भनिरहे । बीचमा स्पष्टीकरण दिने पालो आयो सचिव देवकोटाको ‘आफू मन्त्रालयमा नयाँ भएको र अनेक दबाबका कारण तनावमा रहेको प्रस्ट्याए । आफू भूमिसुधारमा हुँदा गरेको काम हेर्न र सबै सचिवलाई एउटै डालोमा हालेर नहेर्न मान्यहरूलाई आग्रह गरे । को चोर हो ? कुन सचिव फटाहा हो त्यो बुझेर गाली गर्नुस् । देश अस्थिर छ, ब्युरोक्रेसीले चाहेको कुरा केही हुँदैन त्यो पनि बुझ्नुस् भन्दै उनले सांसदलाई सम्झाए । अस्ति शुक्रबार यही जुहारीबीच सकिएको उपसमितिको पूर्ण बैठक १ असोजमा बस्दै छ । उक्त बैठकमा परराष्ट्रमन्त्री कृष्णबहादुर महराका साथै आपूर्ति र वाणिज्यमन्त्रीलाई डाकिएको छ । 

टिप्पणीहरू