आज राजधानीमा के के हुँदैछ ?

आज राजधानीमा के के हुँदैछ ?

आज राजधानीमा विभिन्न कार्यक्रम हुने भएका छन् । तुलनात्मक रुपमा आज औपचारिक बैठक धेरै हुने देखिएको छ । त्यसैगरी केही बिरोध र छलफलका कार्यक्रम पनि राखिएका छन् ।

बिहान साढे ८ बजे नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । बैठक क्वालिटी ब्याङ्क्वेट,बुध्दनगर, काठमाडौंमा हुने जानकारी दिइएको छ ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा आज पनि धर्ना हुँदैछ । रौतहटमा क्रियाशील सदस्यता वितरणमा भएको धाँधली बिरुध्द साउनदेखि रिले अनसन तथा धर्ना कार्यक्रम हुँदै आएको हो । उक्त कार्यक्रम सँधैझैँ आज पनि बिहान ९ बजेबाट हुने जनाइएको छ ।

एनसेलको कार्यालयमा पनि कर्मचारीले धर्ना दिन थालेका छन् । त्यहाँको ट्रेड युनियनले कर्मचारीमाथि कारबाही गरेको,नियमविपरित सरुवा गरेको भन्दै आफूले राखेको माग पूरा गर्न कार्यालयको मूल गेटमा दिइएको धर्नालाई आज पनि बिहान १० बजे निरन्तरता दिइने जनाइएको छ ।

नेपाल वायुसेवा निगममा पनि सँधैझैं बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म धर्ना हुँदैछ । त्यहाँका तीन वटा कर्मचारी युनियनले आफ्ना माग पूरा हुनुपर्ने भन्दै गर्दै आएको धर्ना झण्डै तीन महिना पुग्न लागेको छ ।

नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक जारी छ । अस्तिदेखि शुरु भएको बैठक आज तेस्रो दिन अर्पण ब्याङ्क्वेट,नयाँ बानेश्वरमा बिहान ११ बजेबाट हुने बताइएको छ ।

उता संसदको विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे, संसद सचिवालय, सिंहदरबारमा हुने भएको छ ।

बूढीगण्डकी राष्ट्रिय सरोकार समितिले बूढीगण्डकी आयोजना तत्काल नयाँ मोडालिटीमा शुरु गर्नुपर्ने माग राख्दै धर्ना दिँदै आएको छ । आज पनि समितिले माइतीघरमा दिउँसो १२ बजेबाट कार्यक्रम तय गरेको हो ।

नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीले आज दिउँसो १ बजे भेला डाकेको छ । भेला राष्ट्रिय सभागृहमा हुने छ ।

उता प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो २ बजे संसद भवन, नयाँ बानेश्वरमा हुने भएको छ ।

हाम्रो नेपाल,हामी नेपाली केन्द्रीय युवा विभाग,ललितपुरले ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यमा एमसीसी सम्झौताबिरुद्ध कोणसभा गर्ने जनाएको छ । कोणसभा दिउँसो ३ बजे पाटनको सुन्धारामा हुने भनिएको छ ।

ललितपुरको क्याथपोर्ड कलेजको प्रशासनमा विद्यार्थीहरुले साउन २४ गतेदेखि लगाएको ताला आज पनि नखुल्ने जनाइएको छ ।

टिप्पणीहरू