​चौथोमा पुग्छ त एमाले ?

‘कांग्रेस, माओवादी र राजपामध्ये मधेसमा पहिलो को हुने भन्नेमा प्रतिस्पर्धा छ ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार वीरगन्जमा बसेको हेडक्वार्टर बैठकमा आफ्नो निष्कर्ष सुनाएका छन् । उनले एमालेलाई साह्रै हियाएर बोलेको स्रोतले जनाएको छ ।

प्रचण्डको भनाइ थियो, ‘खै, एमाले चौथो पोजिसनमा चाहिँ आइहाल्छन् कि !’ आफू प्रथम हुने वा नहुने आधार प्रस्तुत गर्दै उनले अगाडि थपे, ‘ठीक ढंगले उम्मेदवार चयन गर्न र बागी उम्मेदवार रोक्न सकियो भने हामी मधेसमा पहिलो हुनेमा कतै, केही शंका छैन ।’ उनले आफूहरूको सहकार्यको पहिलो रोजाई राजपा र कांग्रेस रहेको भए पनि उनीहरु आफैं उम्मेदवार छान्नमा व्यस्त रहेको रिपोर्टिङसमेत गरे । उपेन्द्र र विजय गच्छदार पनि पछिपछि कुदिरहेको सहभागीलाई उनले सुनाएका थिए । 

माओवादीले बैठकको उद्देश्य एकताको सन्देश दिन भनेर त्यहाँ डाकेका छन् । अब वाइसिएललाई पनि चुनाव अवधिर मधेसमै अड्डा जमाउन भनिएको छ । बाबुरामलाई छाडेर आएकाहरूलाई समेट्ने, औपचारिक काम दिनेदेखि मधेसमै हेडक्वार्टर राखेर प्रदेश नं. २ स्थानीय तह निर्वाचनको तयारीमा लाग्ने निर्णय बैठकले गरेको स्रोत बताउँछ । वर्षमान पुनको नेतृत्वमा समायोजन समिति गठन गरेर मधेसका अरू मान्छे भिœयाउन थप आकर्षण पनि तयार पारिएको छ । 

बाबुरामबाट आएका देवेन्द्र पौडेल, आहूति, प्रेम शाह, रामेश्वर राय यादवलाई पनि सो बैठकमा राखेर ‘हामीतर्फ आकर्षण बढ्दो छ । मधेसमा आएर हेडक्वार्टर राख्न सक्ने अवस्थाको अर्थ हाम्रो वैचारिक विजय भएको छ’ भन्ने व्याख्या सुनाइएको सो बैठकमा प्रचण्डले ‘गैरकम्युनिस्ट पनि हामीतर्फ आउनु हाम्रो प्रभाव बढ्नु हो’ भन्दै उनीहरूको प्रशंसा गरेको र खुसीयाली मनाएको स्रोत बताउँछ । तमलोपा उपाध्यक्ष छाडेर माओवादीमा छिरेका रामेश्वर राय यादवले ‘राजपाले ल्याएको विचार शक्ति र सत्ताका निम्ति हो । साधन र स्रोतका लागि जे पनि गर्छन् । युवालाई ध्यान दिँदैनन् । यसर्थ युवाहरू विखण्डनतर्फ जाने खतरा छ । यसलाई रोक्न म यता आएको हुँ’ भन्ने विचार राखे ।

टिप्पणीहरू