कसले हेर्ने हो यस्तो काम ?

कसले हेर्ने हो यस्तो काम ?

अर्थ मन्त्रालयले हरेक वर्ष भारी बजेट विकास निर्माणको लागि निकासा गर्छ । त्यही रकमले सडक कालोपत्रे हुन्छ । यसनिम्ति नगरपालिका, महानगरपालिका र वडालाई बजेट छुट्याइएको हुन्छ । तिनले निर्माण व्यवसायीलाई महँगोमा बाटो निर्माण गर्ने ठेक्कापट्टा दिन्छन् । असार मसान्तमा बजेट पारित हुन्छ । साउनदेखि सडक निर्माण कार्य शुरु ।

ठेकेदारले रकम अपुग भयो भन्दै अधूरै छोडिदिन्छ । भएको बाटोमा पनि डोजर लाइन्छ तर कालोपत्रे भने डोजर लाएर खनेको पाँच वर्षसम्म पनि पूरा हुँदैन । पहिलो वर्ष बनेको बाटो बिगारिन्छ । दोस्रो वर्ष फेरि त्यही बाटोमा डोजर लाइन्छ । तेस्रो, चौथो गर्दागदै वर्षौं बित्छ । तर, सडक पिच हुँदैन । बाटो हिँड्दा दुर्घटना नहोस्, महिलालाई घर जान सजिलो होस् भनेर सडक छेउछाउ सोलार बत्ती जडान गरिएको छ ।

केही ठाउँमा पनि सिसी टिभी क्यामेरा पनि छन् तर अधिकांश सिसी टिभी क्यामेराले काम गरेको छैन । धेरैजसो भित्री गल्लीमा सोलारबत्ती जडान गरिएको छैन । बिग्रेका, काम गर्न छोडेका सोलारबत्तीहरू मर्मत समेत गरिएका छैनन् ।

राति सडक दुर्घटना हुनुको मुख्य कारण सोलार बत्तीको अभाव नै हो । धेरैजसो कामबाट फर्किंदा अँध्यारो भइसकेको हुन्छ । सार्वजनिक सवारीको भद्रगोलका कारण कामबाट टाइममै निस्किए पनि घर पुग्दा अबेर भइसक्छ । सडक दुर्घटना न्यूनीकरण गर्न आकाशे पुल र जेब्राक्रसले निकै सघाउ पुप्याउँछ । हरेक सडकमा आकाशे पुल निर्माण गरिदिने हो भने दुर्घटना निकै कम हुन्छ । ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्छ ।

केही वर्षअघि सरकार र महानगरले सडक छेउछाउ विभिन्न जातका रूख बिरुवा रोपेका थिए । उपत्यकामा मात्र नभई उपत्यका बाहिरका सडकमा पनि बोटविरुवा रोप्ने कार्यक्रम भएको थियो । यसमा पनि राज्यले अर्बाै खर्च ग¥यो ।

तर, हेरचाह अभावका कारण कति बोटविरुवा मरे । कति मासिए र ती रोपेका बोटबिरुवा जोगाउन चासो दिइएन । बोटविरुवाले अक्सिजन प्रदान गर्छ । हरियो चीजबिज हेर्नेले आँखा निकै स्वस्थकर हुन्छ । बोटबिरुवा मासिनु भनेको मानव जाति नासिनु हो । वनजंगल फँडानी गरेर सिद्धिसक्यो । सबै वनजंगल फँडानी गरेर आवासीय क्षेत्र निर्माण भएका छन् । चौतारा, पाटीपौवा, धाराकुवा सबै शून्यकै संख्यामा झरिसके । पानीको मुहान सुक्दै गए । सरकारले घर बनाए पनि अलिकति जग्गा छोडेर वृक्षरोपण गर्ने नीति ल्याएको वर्षौं भइसक्यो । भएका बरपिपलका रूखहरू पनि मासेर घर बनाएका छन् ।

अहिले तैँले घर बनाउने कि मैले घर बनाउने होडबाजी चलिरहेको छ । तीन आना जग्गामा घर बनाउँछन् । खाली ठाउँ कहीँ पनि छाडेका छैनन् । तीन आना जग्गामा पाँच तले घर बनायो । भाडामा लगायो । अनि त्यत्रो कोठाबाट निस्केको फोहोरचाहिँँ सरकारले बटुल्नुपर्छ । केहीदिन फोहोर उठाउन ढिला भयो भने घरघरबाट निस्केको फोहोर सडकभर फ्यालिन्छ ।

घर बनाइसकेपछि बोटविरुवा रोप्न मिल्ने जत्ति जग्गा छोड्नुपर्छ । कम्पोष्ट मल बनाउने ठाउँ निर्माण गर्नुपर्छ । फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी सरकारको मात्र हो र ? नागरिकको चाहिँ होइन ? तरकारीको बोक्रादेखि लिएर बढी भएको खानासम्म बाटोमा ल्याएर फ्याँकेको दिनहुँ देखिन्छ ।

एकै ठाउँमा जोडेर घर बनाउन दिनु नै ठूलो गल्ती हो । यसरी घर बनाउँदा वृक्षरोपण कहाँ गर्ने ? पर्याप्त अक्सिजन चाहिन्छ भने एउटा घरमा कम्तीमा १५ वटासम्म बोटविरुवा लगाउनुपर्छ । व्यवस्थित शहरीकरण हुन्छ । चराचुरुंगीले पनि बासस्थान पाउँछन् । शहर हरियाली हुनुको साथै हाम्रो स्वास्थ्यलाई लाभ मिल्छ । मानव जातिले पर्याप्त मात्रामा अक्सिजन पाउँछन् ।

टिप्पणीहरू