नेपालमा अनलाइन शिक्षाको स्तर : रुख चढेर एक घण्टाको कक्षा

नेपालमा अनलाइन शिक्षाको स्तर : रुख चढेर एक घण्टाको कक्षा

कोरोना महामारीका कारण वाध्यात्मकरुपमा प्रविधि मैत्री बनेको नेपाली समाज उत्तिकै दु:खदायी र कष्टकर अवस्थामा छ । वैकल्पिक माध्यमका रुपमा सहज मानिँदै आएको प्रविधिको पहुँच देशका विकट तथा दुर्गम ठाउँमा सहज नहुँदा थप कष्टकर बनेको हो ।

समाज प्रविधिमैत्री बन्दै जाँदा इन्टरनेट,विद्युत आपूर्ति जस्ता समस्याले यसको वितरणमा असहजता थपेको पाइएको छ । महामारी रोकथामका लागि सरकारले डिजिटल प्लेटफर्मलाई वैकल्पिक माध्यमकोरुपमा बिस्तार गरेर सेवा प्रदान गरे पनि यसका कैयौं असहजता फेला पर्न थालेका छन् ।

हालै सामाजिक सञ्जालमा व्यापक रुपमा चर्चामा आएको अनलाइन कक्षाका लागि रुखमा डेरा बनाइएका तस्वीर बग्रेल्ती छन् । ग्रामीण क्षेत्रमा मात्र नभई इन्टरनेटको पर्याप्त सुविधा नहुँदा यसको असर शहरी क्षेत्रमा समेत पर्दै आएको छ ।

विशेषगरी अनलाइन कक्षा, अनलाइन फारमलगायतका सेवा सुविधामा प्रविधिको कमजोरी पर्याप्त रहेको नेपाली समाजले देख्दै र भोग्दै आएको छ । अहिले चर्चामा आएको रुखमा बनाइएको विद्यार्थीको डेराले नेपाल अझै पूर्णरुपमा प्रविधिमैत्री बन्न नसकेको प्रष्ट हुन्छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१०,अर्खौले,नवलपुर सिम्लेका छात्र धनकुमार मगरले अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएको खबर बाहिरिएका छन् । सरस्वती मावि अर्खौलेको कक्षा १० मा अध्ययनरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षा लिइरहेका छन् ।

उनले अर्खौले नवलपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुँदै आएको बताएका छन् । अनलाइन कक्षा सञ्चालन भइरहेका बेला उनी रुखमा बनाइएको डेरामा बस्ने गरेका हुन् ।

विद्यालयले साउन २४ गतेदेखि अनलाइन कक्षामार्फत् पढाइ शुरु गरेको छ । तर,नवलपुर सिम्लेमा मोबाइलबाट इन्टनरनेट नचल्ने हुँदा डाटा कनेक्ट गरी जुम मिटिङमा ज्वाइन हुन रुख चढ्नुपर्ने बाध्यता आइलागेको हो । इन्टरनेटको समस्याका कारण आफू ८/९ दिनसम्म अनलाइन कक्षामा सहभागी हुन नसकेको उनको गुनासो छ ।

पढाइ छुट्न थालेपछि एउटा जुक्ति निकाल्दै रुखको फेदमुनि बसेर चेक गर्दा कनेक्सन राम्रो देखेको र रुख चढ्दा अझ राम्रो कनेक्सन हुने ठानेर रुखमा चढेको उनले बताएका छन् । रुखमा चढेपछि आफूले सहजै कक्षा लिन सफल भएको बताएका मगरले रुखमा डेरा बनाउन बाध्य भएको उल्लेख गरे ।केही समयअघि पनि दोलखाको भीमेश्वर नगरपालिकाका विद्यार्थीहरुले अनलाइन कक्षामा सहभागी हुनका लागि इन्टरनेटको खोजीमा सोही स्थानको एउटा डाँडामा पाल टाँगेर पढेको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

यसो त देशका अधिकांश स्थानमा अनलाइन कक्षाको पहुँचका लागि विद्यार्थीहरुले अनेक जुक्ति लगाएका तस्बिर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती हुन थालेको छ ।

इन्टरनेट र विद्युत आपूर्तिमा आएको अवरोधका कारण कैयौं विद्यार्थीले महामारीको समयमा अनलाईनबाट समेत गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकेको अभिभावकहरुको गुनासो छ ।

टिप्पणीहरू